गण्डकी प्रदेशमा कोभिड १९ सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गते आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो ।
यस्तै मुख्यमन्त्री पोखरेलले कोभिड सङ्क्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपियाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा बजेट मार्फत गर्नुभएको छ ।
जेठ २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका मुख्यमन्त्री पोखरेलले तेस्रो दिनमै बजेट ल्याउनुभएको हो ।
छोटो समयमा बजेट प्रस्तुत गर्नुपरेका कारण प्रदेश सरकारले अघिल्लो वर्षमा क्रमागत रहेका कार्यक्रम योजना बाहेक केही मात्र कार्यक्रमलाई रकम विनियोजन गरिएको छ । भने अन्य रकम मन्त्रालयलाई एकमुष्ट दिने बताइएको छ ।
यसअघि नै सञ्चालन भइरहेको दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी तथा नवजात शिशुको उद्धार कार्यक्रमले निरन्तरता पाएको छ ।
‘प्रदेशका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।’ – मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
यसैगरी नेपाल सरकार र स्थानीयतहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिन १ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपियाँको बजेट ल्याइएको थियो ।
यसै गरी सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख रुपियाँ, विशेष अनुदानमा ५४ करोड ९० लाख रुपियाँ, सम्पूरक अनुदानमा ८७ करोड ३६ लाख रुपियाँ आएको छ ।
स्थानीय तहकालागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै प्रदेश र स्थानीयतहको साझेदारीकालागि प्रत्येक स्थानीयतहलाई १ करोड रुपियाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।
प्रदेशको आन्तरिक आम्दानी र सङघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट अघिल्लो वर्षभन्दा कम आएको हो ।
गण्डकी प्रदेशले केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपियाँ पाएको छ ।