INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नीलकण्ठ नगरपालिका–१२ की २५ वर्षीया सन्तोषी गौलीलाई सुतेको अवस्थामा ३२ वर्षीय पति कपिल भट्टले जेठ २१ गते तातो फलामले पोलेर घाइते बनाएको आरोपमा पीडितले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

पतिले दुई वर्षदेखि लागातार कुटपिट गरेर मार्न खोजेको भन्दै घटनापछि पीडित महिलाले घर छाडेर सुरक्षित आवास गृृहमा पुग्नुभएको छ ।

घर छाडेर सहयात्री समाजले सञ्चालन गरेको सुरक्षित आवास गृहमा पुग्नु भएकी गौलीले अब आफ्नो माइती घर समेत जान नसक्ने र बस्ने ठाउँ नभएको बताउनुभयो ।

पीडितको स्वास्थ्य जाँच जेठ २३ गते धादिङ अस्पतालमा गरेर उपचार पनि सोही अस्पतालमा भइरहेको छ ।

घटना भएको दिन पीडितले नेपाल प्रहरीको १०० मा फोन गरेर आफूलाई पतिले तातो फलामले पोलेर मार्न खोजेकोले बचाउन आग्रह गर्दा प्रहरीले ‘पतिपत्नीको झगडा रहेछ मिलेर बस्नु’ भनेकोले आफूले सुरक्षाको अनुभव समेत गर्न नसकेको पीडितको आरोप छ ।

यसअघि ०७७ पुस १५ गते पनि आफूमाथि आरोपितले कुटपिट गर्दै घाँटी थिचेर मार्न खोजेपछि जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको समेत छानबिन नभएको भन्दै न्याय दिलाउन पीडित गौलीले आग्रह गर्नुभएको छ ।

आरोपितलाई प्रहरी कार्यालयमा झिकाएर आवश्यक कारवाही गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काले बताउनु भयो ।

अन्य

भिडियो