घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष ४९ वर्षीय रमेशकुमार पाण्डेयमाथि जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत २९ वर्षीय इन्स्पेक्टर रामकुमार गुप्ताले जेठ १८ गते दुर्व्यवहार गरेको भन्दै त्यसको विरोधमा वडा नं. १५ र ५ को कार्यालय बन्द गरिएको छ ।
कोभिड सङ्क्रमितका लागि अक्सिजन सिलिण्डर सङ्कलन गर्न हिँडेका वडाध्यक्ष पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय दाङको गेटमा जेठ १८ गते चेकिङको क्रममा इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको र परिचयपत्र देखाउँदा देखाउँदै वडाध्यक्ष चढेको रा ४ प ५०१३ नम्बरको स्कुटर नियन्त्रणमा लिएको पीडितको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले निषेध आदेशको बेला पास बिना निजी सवारी साधनमा हिँडेकाले प्रहरीले स्कुटर नियन्त्रणमा लिइएको तर पछि लिन बोलाउँदा पनि उहाँ नआएको बताउनुभयो ।
उहाँले कार्यस्थलमा रहेका प्रहरीले वडाध्यक्षलाई नचिनेकाले घटना भएको बताउनुभयो । अध्यक्ष पाण्डेयले निर्वाचित भएदेखि नै सरकारी साधन नचढ्ने घोषणा गरेर आफ्नै स्कुटरमा चढ्ने गरेको बतउनु भयो ।
घटनाको विरोधमा वडा नं. १५ र ५ को कार्यालय एक दिनका लागि बन्द गरिएको वडा नं. ५ का अध्यक्ष विष्णुमणी दाहालले बताउनुभयो ।
कार्यालय बन्द हुदा अत्यावश्यकीय सेवा अबरुद्ध भएका छन् । घटनाको विरोध गर्दै नेपाली कांग्रेस दाङका सचिव शङ्कर डाँगीले जेठ १८ गते विज्ञप्ति निकालेर दोषीमाथि कारवाहीको माग गर्नु भएको छ ।
घोराही उपमनपाकी उपप्रमुख सिता सिग्देल न्यौपानेले ‘मिस अण्डरस्ट्यान्डिङ’का कारण घटना भएको र त्यसको समाधान आपसी छलफलबाट गरिने बताउनुभयो ।