२७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपितविरुद्ध प्रहरीमा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले साउन २५ गते इन्सेकलगायतका अधिकारकर्मीहरूलाई बताएकी छन् ।
पीडितले बलात्कार प्रयास घटनामा संलग्नलाई कारबाही गर्न र आफूलाई न्याय दिलाई दिन अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रहसमेत गरेकी छन् ।
पिडा गाविस-६ का ३५ वर्षीय ज्ञानबहादुर मगरले ०७३ साउन १८ गते बेलुका बलात्कार प्रयार गरेको र प्रतिकार गर्न लाग्दा अन्य मानिस समेत बोलाएर आरोपितले कुटपिट गरेको पीडितले बताइन् ।
प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा साउन १९ गते उपचार पश्चात पीडितको थप उपचार जिल्ला अस्पतालमा गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गजुरीमा घटनाबारे सोही दिन उजुरी लेखेर दिएपछि पीडितलाई जिल्ला अस्पताल लगिएको हो ।
जिल्ला अस्पतालबाट थप उपचारका लागि पीडित महिलालाई काठमाडौँको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पताल लगिएकोमा शिक्षण अस्पताले मनमोहन अस्पतालमा उपचारको लागि पठाएको र पीडितको मनमोहन अस्पतालमा उपचार भएको उनले बताइन् ।
उपचार पछि पीडित महिला साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगेकी थिइन् । प्रहरीले बलात्कार प्रयासको मुद्दा दर्ता हुन नसक्ने भनी फर्काइ दिएको उनले गुनासो गरिन् ।