राजविराजस्थित छिन्नमस्ता अस्पतालको शैयामा ‘बेवारिस’ अवस्थामा रहेकी १५ वर्षीया बालिका र ३० वर्षीया महिलालाई वैशाख २७ गते इन्सेक सप्तरीको पहलमा मानव सेवा आश्रम पठाइएको अस्पतालले जनाएको छ ।
बौद्धिक अपाङ्गता भएका दुवै जनाको उपचार भए पनि बेवारिसे बनेकाले इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलको पहल र राजविराज नगरपालिकाको सहयोगमा सर्लाहीको हरिवन नयाँ रोडस्थित मानव सेवा आश्रम पठाइएको अस्पतालका व्यवस्थापक दिपेन्द्र यादवले बताउनु भयो ।
नाम बताउन नसकेकी महिलालाई वैशाख ११ गते र बोल्न नजान्ने १५ वर्षीया बालिकालाई वैशाख १५ गते इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीले उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउनु भएको थियो ।
सडकमा घाइते अवस्थामा फेला पारी उपचारार्थ इन्स्पेक्टर मुडभरीले ल्याएको जानकारी दिनुहुँदै अस्पताल सञ्चालक समितिका अध्यक्ष शैलेन्द्रमोहन झाले करिब दुई साताको निःशुल्क उपचारपछि दुवै जना निको भएको र त्यसपछि लालनपालन गर्ने व्यक्ति वा संस्थाको खाँचो भएकाले इन्सेक प्रतिनिधि पोखरेलसँग आग्रह गरिएको बताउनु भयो ।
अस्पतालले उपचार गरेको तथा इन्सेक प्रतिनिधि पोखरेलले मानव सेवा आश्रम, राजविराज नगरपालिका र एसपी राजेन्द्रप्रसाद धमलासँग समन्वय गरेर वैशाख २७ गते सर्लाहीको हरिवन नयाँ रोडस्थित मानव सेवा आश्रम पठाएको अस्पतालले जानकारी दिएको छ ।
खुल्ला आकाशमुनि बेवारिसे जीवन बिताइरहेका असहाय एवम् मनोरोगीका लागि भरपर्दो सहारा बनेको मानव सेवा आश्रम सर्लाही शाखामा हाल एक बालिका, १६ महिला र ४३ जना पुरुष छन् ।
विभिन्न स्थानबाट उद्धार गरिएका समाजका अनाथ, अपाङ्गता भएका व्यक्ति, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाले काम गरिरहेको सर्लाही शाखाकी संयोजक मनिषा केसीले बताउनु भयो ।