छिन्नमस्ता गाउँपालिका–६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका सोही ठाउँका सञ्जय पण्डित र सञ्जयका दाजु जागेश्वर पण्डितले वैशाख २२ गतेदेखि २४ गतेसम्म साङ्लोले बाँधेर ‘यातना’ दिएको पीडित पक्षको आरोप छ ।
कुपही र रम्पुरा जोडने झोलुङ्गे पुल नजिक पण्डितद्वारा सञ्चालित मदिरा पसलमा वैशाख २१ गते राति चोरी गरेको आरोपमा वैशाख २२ गते बिहान घरबाटै समातेर ल्याई हात–गोडामा फलामे साङ्लाले बाँधेर ताला लगाई तीन दिनदेखि ‘यातना’ दिएको पीडितका बुवा रामस्वरुप मुखियाले आरोप लगाउनु भयो ।
खाना पानी नदिई भोकै र प्यासै बन्दी बनाएको थाहा पाएर वैशाख २३ गते राति साढे १० बजे जमानी बसेर घर ल्याएकोमा पञ्चायती, छलफलका लागि वैशाख २४ गते बिहान ९ बजे पुनः फर्काएर लैजानु परेको भन्दै सोही ठाउँका कपिल मुखियाले पण्डित दाजुभाइका साथै गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र मण्डलका छोरा तेजनारायण मण्डलले समेत ‘यातना’ दिने कार्यमा प्रत्यक्ष सहयोग गरेको उहाँले आरोप लगाउनु भयो ।
कपिलले खाना लिएर गएका पीडितका बुबा रामस्वरुप मुखियालाई समेत तेजनारायणले गालीगलौज र कुटपिट गरेको आरोप लगाउनु भयो ।
घटनाको सूचना पाएर वैशाख २३ गते घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय सखडाको प्रहरी टोलीलाई तेजनारायणले गाउँमै ‘मिलापत्र’ गर्ने भनेर फिर्ता पठाएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको कपिलले बताउनु भयो ।
चोरीको केही समान बरामद भएको र मुखियाले चोरी स्वीकारेको दावी गर्दै आरोपित पण्डितले चोरीमा संलग्न मुखियासहित सोही ठाउँका सरोज मण्डल र नितिश मुखियाले जनही ४७ हजार रुपियाँका दरले क्षतिपूर्ति तिर्नुपर्ने माग गर्नुभयो ।
‘यातना’ दिएपछि छोराले चोरी गरेको स्वीकार्न बाध्य भएको पीडितका बुबा रामस्वरूप मुखियाले बताउनु भयो ।
घटनाबारे जानकारी पाएपछि वैशाख २४ गते शिवकुमारलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।