प्रदेशमा एक कोभिड –१९ सङक्रमितको समयमा उपचार नपाउँदा मृत्यु भएको छ ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लाका एक ६८ वर्षीय कोभिड–१९ सङ्क्रमित पुरुषको समयमा स्वास्थ्य उपचार नपाउँदा मृत्यु भएको छ । वैशाख १५ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएका उहाँलाई वैशाख २० गते बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएको स्वास्थ्य शाखामा जानकारी प्राप्त भएको स्वास्थ्य शाखाका कर्मचारी पिताम्बर भूर्तेलले बताउनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई स्वास्थ्य उपचारको लागि नजिकैको स्वास्थ्य संस्था लैजान खबर गर्दा एम्बुलेन्स नआएको मृतकको परिवारका एक सदस्यले बताउनुभयो । कोभिड–१९ सङ्क्रमितको लागि नगरपालिकाले छुट्टै एम्बुलेन्सको व्यवस्थापन गरेको भएपनि एम्बुलेन्सहरु आउन नमाने उहाँहरुको दावी छ । सो विषयका देवचुली नगरपालिकामा खबर गर्दा नगरपालिकाका कर्मचारीहरु पुगेपनि नगरपालिकाको एम्बुलेन्स पोखरा गएको कारण एम्बुलेन्स व्यवस्थापन गर्न नसकेको भूर्तेलले बताउनुभयो । अन्तिममा मृतकका छिमेकीको ट्याक्टरमा उहाँलाई उपचारको लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो । त्यसैगरी नवलपुरको एक ८३ वर्षीय महिलाले उपचारको लागि बेड नपाएको कारण ज्यान गएको छ । भरतपुरको चितवन मेडिकल कलेजमा वैशाख १९ गते कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको उनलाई चितवनमा बेड नपाएपछि थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको थियो । उहाँको मध्यविन्दु अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।
गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार कोभिड–१९ जोखिम बढेसँगै वैशाख २१ गते राति १२ बजेबाट लागु हुने गरी पालुङटार र गोरखा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २० गते बसेको बैठकले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएको अवधिमा कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङलाई तिव्रता दिन पनि स्थानीयतह र स्वास्थ्य कार्यालय गोरखालाई अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताउनुभयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र हिँड्डुल नगर्न प्रशासनले नगरवासीलाई आग्रह गरेको छ । अत्यावश्क बाहेक सरकारी र वित्तिय सङ्घ संस्थाको सेवा प्रवाहमा पनि रोक लगाइएको छ भने औषधी पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा कोभिड १९ को सङ्क्रमित बढी रहेको कारण जिल्लामा यस अघि जारी गरेको निशेघाज्ञा थप भएकोे छ । वैशाख १३ गते बाट वैशाख २१ गतेसम्म लगाइएको निशेघाज्ञालाई वैशाख ३१ गतेसम्म थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले वैशाख १९ गते सूचना जारी गरेर जानकारी दिनुभयो । उहाँले यस अवधिमा अत्यावश्यक बाहेका सवारी साधनहरुपनि सञ्चालन नहुने जानकारी दिनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बडिगाड गाउँपालिका वैशाख २० रातिबाट बन्दगर्ने निर्णय गरेको छ ।गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकामा मानिसहरुको आवतजावत, यातायात सञ्चालन, व्यवसाय, उद्योग, कार्यालय र शैक्षिक संस्था पूर्ण रुपमा बन्दगर्ने निर्णय गरेको जानकारी गराउनुभएको छ । त्यसैगरी गलकोट नगरपालिकाले बढदो कोभिड १९ सङ्क्रमण रोकथाम तथा व्यवस्थापनको लागि चार दिन नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको वैशाख २० गते बसेको सर्वदलिय बैठकले वैशाख २१ गतेदेखि लागु हुने गरी वैशाख २४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतका सात ओटै स्थानीय तहमा आइसोलेसन व्यवस्थापन भएपनि उचित स्रोत साधनको अभावमा सञ्चालनमा आउन सकेका छैनन् । आइसोलेसनमा आवश्यक उपकरण सहित स्रोत साधनको अभाव भएपछि सङ्क्रमित व्यक्तिहरु होम क्वारेण्टाइनमा बस्न बाध्य भएका छन् । नयाँ भेरियन्ट सहितको दोश्रो कोभिडको लहरबाट पर्वतमा ४० जना सङ्क्रमित भइसकेका छन् । जसमध्ये दुईको मृत्यु भइसकेको छ । सङ्क्रमित व्यक्ति मध्ये दुई जना जिल्ला बाहिर उपचारका क्रममा छन् भने पैञ्यु गाउँपालिकामा सञ्चालित आइसोलेसनमा दुई र कुश्मा नगरपालिका स्थित जिल्ला अस्पतालमा सञ्चालित आइसोलेसनमा एक जना मात्रै उपचाररत रहेका छन् । अघिल्लो वर्ष जिल्लाका सबै स्थानियतहले सङ्क्रमितलाई सामुहिक रुपमा राखेर उपचार गर्ने गरी १ सय २ बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा ल्याएको भएपनि अहिले उक्त अस्पताल छैन । सङ्क्रमितको उपचारका लागि कुश्मा नगरपालिका स्थित पर्वत अस्पतालमा १० बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ भने अन्य ६ स्थानीय तहमा प्रति स्थानियतह पाँच बेड क्षमताको आइसोलेसन कक्ष सञ्चालनमा रहेको छ । हाल सबै स्थानियतहमा सङ्क्रमितहरु देखिएपनि पैञ्यु र कुश्मा नगरपालिका बाहेकका अन्य स्थानियतहहरुले उचित स्रोत साधनको अभावमा आइसोलेसनमा सङ्क्रमितलाई राखेर उपचार गर्न नसकेका हुन् । ‘डाक्टर भएर मात्रै नहुने रहेछ’– विहादी गाउँपाालिकाका अध्यक्ष कमल भूसालले भन्नुभयो– ‘स्रोत साधन नभएपछि सङ्क्रमितलाई टाढैबाट औषधी फाल्नु भन्दा घरमा नै सुरक्षित भएर बस्न सङ्क्रमितलाई अनुरोध गरेका छौँ ।’ भूसालले स्वास्थ्य अवस्थामा जटिलता उत्पन्न भएमा व्यवस्थित रुपमा उपचार गर्ने गरी घरमा नै बस्न अनुरोध गरिएको बताउनुभयो । जिल्ला कोभिड व्यवस्थापन समितिले पनि अघिल्लो वर्ष सञ्चालन गरिएको क्वारेण्टाइनलाई व्यवस्थित गर्न समस्या भएको भन्दै सङ्क्रमितलाई घरमा नै स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर सुरक्षित तबरबाट बस्न अनुरोध गरिएको समितिका संयोजक एवंम पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङ जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिएकोले जिल्ला प्रशासन कार्यालय मुस्ताङले वैशाख १९ गते सूचना जारी गर्दै ०७८ वैशाख २१ गतेदेखि अर्को सूचना नआएसम्म जिल्ला प्रशासन कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताउनुभयो ।