३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ३७ वर्षीय दिपेन भनिने दिपनारायण साफीलाई जिल्ला अदालतले वैशाख १६ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले सात वर्ष कैदका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
घरमा कोही नभएका बेला ट्युबवेलबाट पानी लिने बहानामा आएका साफीले ०७६ जेठ २७ गते राति बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७६ जेठ ३० गते उजुरी दिएकी थिइन् ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा जेठ २८ गते प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ०७६ जेठ ३० गते गरिएको थियो ।
जिल्ला अदालतको आदेशमा साफी असोज ९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका प्रहरीले जनाएको छ ।