४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–४ का ४५ वर्षीय बद्रीनारायण साहविरुद्धको मुद्दा अदालतले ०७८ वैशाख १५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
आरोपित फेला नपरे पछि जिल्ला न्यायाधीश सूर्यनाथप्रसाद अधिकारीको इजलासले मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।
आरोपितले ०७५ साउन २१ गते दिउँसो बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोही दिन उजुरी दिनु भएको थियो ।
घरगुहाली (गाईगोठ) मा सुतिरहेकी पीडितलाई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको छोराले देखेर कुटपिट गरेपछि आरोपित फरार भएको परिवारका सदस्यले बताएका छन् ।
पीडितका पति साढे एक वर्षदेखि वैदेशिक रोजगारमा छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ०७५ साउन २१ गते स्वास्थ्य परीक्षण भयो । जिल्ला प्रहरी कार्यालयले साउन २३ गते उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतले आरोपितविरुद्ध ०७५ पुस २४ गते नै वारेण्टसहितको म्यादी पुर्जी जारी गर्दा समेत हालसम्म आरोपित फेला नपरे पछि मुद्दा मुल्तबीमा राख्ने फैसला गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।