INSEC Online

📅 २०८३ जेष्ठ २२

छोरीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बलान बिहुल गाउँपालिका–४ बेल्ही की १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको कसुरमा ४५ वर्षीय बाबु तुरन्तलाल बडहीलाई जिल्ला अदालतले वैशाख १४ गते जन्मकैद सजायको फैसला गरेको छ ।

न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी ४३ वर्षीया आमा पवनदेवी बडहीको हकमा मुद्दा मुल्तबीमा राखिएको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्ही की १६ वर्षीया सरिताकुमारी बडहीको ०७५ माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई माघ १५ गते गिरफ्तार गरेको थियो ।

मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई गिरफ्तार गरेको थियो ।

आमाबुबा नै आरोपित रहेको शङ्का पश्चात घटनास्थलको अनुसन्धानपछि प्रहरी प्रतिवेदनको आधारमा ०७५ माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजुरी दर्ता गरेको थियो ।

भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही अङ्गमा चोटपटकको निलडाम समेत देखिएकाले प्रहरी प्रतिवेदनका आधारमा उजुरी दर्ता गरिएको इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरीताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुबाआमाले सरीतालाई कुटपिट गरेको स्वीकार गरे पनि हत्या गरेको अस्वीकार गर्दै आएका थिए ।

शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७५ माघ १६ गते गरिएको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित तुरन्तलाल ०७५ फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो