वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ७ हजार १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७५ हजार ५ सय ५५ जना निको भएका छन् ।
वैशाख ६ गते २ सय ५५ जना निको भएका छन् भने निको हुनेको दर ९६.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ६ गतेसम्म ३ हजार ९१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७ हजार २ सय ५४ देखाइएको छ ।
कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएको भन्दै सरकारले फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको छ ।
वैशाख ६ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टसहितको सङ्क्रमण बढेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ र भिडभाड हुने क्षेत्रमा नियन्त्रणमुखी व्यवस्था लागु गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गरेको बताउनु भएको छ ।
आदेशमा मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक काममा २५ जना भन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
उल्लिखित स्थानीय तहका विद्यालय बन्द गर्न मन्त्री परिषदले आदेश जारी गरेको छ ।
| क्रसं | प्रदेश | जिल्ला | स्थानीय तह |
| १ | १ | मोरङ | विराटनगर महानगरपालिका |
| २ | सुनसरी | इटहरी उपमहानगरपालिका | |
| ३ | सुनसरी | धरान उपमहानगरपालिका | |
| ४ | झापा | मेचीनगर नगरपालिका | |
| ५ | झापा | विर्तामोड नगरपालिका | |
| ६ | झापा | दमक नगरपालिका | |
| ७ | २ | पर्सा | वीरगंज महानगरपालिका |
| ८ | धनुषा | जनकपुरधाम उपमहानगरपालिका | |
| ९ | सप्तरी | राजविराज नगरपालिका | |
| १० | बागमती | काठमाडौँ | काठमाडौँ महानगरपालिका |
| ११ | ललितपुर | ललितपुर महानगरपालिका | |
| १२ | काठमाडौँ | दक्षिणकाली नगरपालिका | |
| १३ | काठमाडौँ | किर्तिपुर नगरपालिका | |
| १४ | काठमाडौँ | चन्द्रागिरी नगरपालिका | |
| १५ | काठमाडौँ | नागार्जुन नगरपालिका | |
| १६ | काठमाडौँ | तारकेश्वर नगरपालिका | |
| १७ | काठमाडौँ | टोखा नगरपालिका | |
| १८ | काठमाडौँ | बुढानिलकण्ठ नगरपालिका | |
| १९ | काठमाडौँ | गोकर्णेश्वर नगरपालिका | |
| २० | काठमाडौँ | कागेश्वरी मनहरा नगरपालिका | |
| २१ | काठमाडौँ | शङ्खरापुर नगरपालिका | |
| २२ | ललितपुर | महालक्ष्मी नगरपालिका | |
| २३ | ललितपुर | गोदावरी नगरपालिका | |
| २४ | भक्तपुर | मध्यपुर थिमी नगरपालिका | |
| २५ | भक्तपुर | भक्तपुर नगरपालिका | |
| २६ | भक्तपुर | चाँगुनारायण नगरपालिका | |
| २७ | भक्तपुर | सुर्यविनायक नगरपालिका | |
| २८ | मकवानपुर | हेटौँडा उपमहानगरपालिका | |
| २९ | चितवन | भरतपुर महानगरपालिका | |
| ३० | काभ्रेपलाञ्चोक | धुलिखेल नगरपालिका | |
| ३१ | काभ्रेपलाञ्चोक | बनेपा नगरपालिका | |
| ३२ | गण्डकी | कास्की | पोखरा महानगरपालिका |
| ३३ | लुम्बिनी | रुपन्देही | बुटवल उपमहानगरपालिका |
| ३४ | दाङ | घोराही उपमहानगरपालिका | |
| ३५ | दाङ | तुलसीपुर उपमहानगरपालिका | |
| ३६ | बाँके | नेपालगञ्ज उपमहानगरपालिका | |
| ३७ | रुपन्देही | सिद्धार्थनगर नगरपालिका | |
| ३८ | कर्णाली | सुर्खेत | वीरेन्द्रनगर नगरपालिका |
| ३९ | सुदूरपश्चिम | कैलाली | धनगढी उपमहानगरपालिका |
| ४० | कञ्चनपुर | भीमदत्तनगर नगरपालिका |
यी स्थानीय तहमा भौतिक रुपमा विद्यार्थी उपस्थित हुन पाउने छैनन् र वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्नेछ ।
विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने नरोकिने सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।
वैशाख मसान्तसम्म सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने सबै कार्यक्रम बन्द गरिएको छ ।
त्यस्तै मठ मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिकस्थलमा वैशाख मशान्तसम्म नित्यपूजा मात्र सञ्चालन गरिने भएको छ ।
हेर्नुहोस् मन्त्रिपरिषदले जारी गरेको आदेश
सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार शारदा नगरपालिका–८ मार्के स्थित त्रिभुवन जनता माविमा विद्यार्थीलाइ कोभिड सङ्क्रमण पुष्टि भएपछि सो विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयमा अध्यनरत अन्य विद्यार्थीहरूमा जोखिम बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रधानाध्यापक दलबहादुर बिकले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन गरेर वैशाख ५गतेदेखि ११ गतेसम्म विद्यालय बन्द गरिएको हो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार बैतडीको तल्लोस्वराड क्षेत्रमा रहेको मेलौली नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । वैशाख ४ गते वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोभिडको सङ्क्रमण देखिएपछि वैशाख १४ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । वैशाख ५ गते बसेको नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दसँगै तोल्या क्षेत्र अर्को सूचना जारी नभएसम्मको लागि सिल गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताउनुभयो । यो नगरपालिकामा ४६ सामुदायिक र दुई ओटा संस्थागत गरी ४८ ओटा विद्यालय रहेका छन् ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख ६ गते सम्म ३१ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट ( ०७७ वैशाख ६ गते)