चैत १३ गते १ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४ हजार ४ सय १६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ३ सय ४२ जना निको भएका छन् ।
चैत १३ गते ७० जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १३ गतेसम्म ३ हजार २४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ९९ देखाइएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड १९ को सङ्क्रमण बढेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा लकडाउन गरिएको छ ।
वडाध्यक्ष शङ्कर नेपालीले चैत १२ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि अत्यावश्क सेवा बाहेका सम्पूर्ण गतिविधि बन्द गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
अत्यावश्यक बाहेकका सङ्घसंस्था, पसल, विद्यालय, सरकारी कार्यालय बन्द गर्ने, सभा सम्मेलनमा रोक र सार्वजनिक यातायात बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
वडा नं ४ स्थित लाहाचोकमा सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च देखिएकाले सङ्क्रमण फैलिन नदिन र यसको नियन्त्रण गर्न वडाले जारी गरेको निर्देशन पालना गर्न स्थानीयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।