चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका पति बिरूद्ध जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या दुरूत्साहनको मुद्दा चलाएको छ ।
सुकीका पति ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाई बजिरसिंह थापाले चैत १० गते दिएको उजुरीका आधारमा मानसिंहलाई चैत १२ गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारले बताउनुभयो ।
सुकी आफू, तीन छोरी र एक छोरा समेत गरी पाँच जनाले ०७७ फागुन २४ गते विहान कर्णालीमा हाम फाल्दा सुकी, उहाँका छोरीहरू १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रोशनी र १० वर्षीय छोरा ललित बडुवालको ज्यान गएको थियो ।

घटना भएकै दिउँसो कल्पना र सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव र १० दिनपछि कान्छी छोरी रोशनीको शव कर्णाली नदीमै भेटिएको थियो ।
आठबीस नगरपालिका–३ जाक्सी स्थित कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका आमासहित पाँचै जनाको शव फरक फरक समयमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको थियो ।
शव भेटिएकै जिल्लामा मुद्दा चलाउने प्रहरीको तयारी भए पनि ज्यान गुमाउनेहरू पनि दैलेखकै भएको र उजुरीकर्ताले पनि दैलेखमा मुद्दा चलाउँदा आफूहरूलाई सहज हुने जनाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गराइएको इन्स्पेक्टर सुनारले जानकारी दिनुभयो ।
सुकी र चार सन्तानको आत्महत्या दुरूत्साहनमा मुद्दा चलाइएका सुकीका पति मानसिंह बडुवालले मिडिया चर्चा भएजस्तो ज्यादै धेरै तनाव दिएको नदेखिएको घटना लगतै तीन दिन त्यहाँ अनुसन्धानमा संलग्न दैलेखका डीएसपी अनुपम श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।
घटनाबारे आरोपित मानसिंह बडुवालले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘भारतबाट आएको तीन महिना भएको थियो । बच्चा बसेछ, फाल्दिऊँ भनी हुन्छ भनें । त्यसका लागि गाउँमा व्याजे लगाएको १० हजार फिर्ता मागेर ल्याएँ, एक हजार मासें । पाँच हजार बाकसमै छोडिछ, चार हजार रूपियाँ र छोराछोरी लिएर सबैको ज्यान हालिछ । अहिले माइतीले मुद्दा हाले, कानुन मान्नै पर्यो ।’

‘बच्चा फाल्ने कुरा पनि नाई भनेको थिइनँ, उसका मनमा के होर चल्यो । आफू र बच्चाहरू समेतको ज्यान हाली ।’ मानसिंहले दुःखेसो पोखे । तर उजुरीकर्ता बजिरसिंह थापाले मानसिंहले तनाव दिएको कारण आफ्नी दिदी सुकी र भान्जा भान्जीले आत्महत्या गरेको आरोप लगाएका छन् ।
घटनाको मनोविज्ञान विश्लेषण
कल्पना र सरीताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी अनि छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । रोशनी सानो मान्छे भएको कारण बाँधिएको ठाउँबाट अलग्गिएको कारण ढिला फेला परेको हुन सक्ने त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उपप्रध्यापक सन्देश ढकालको विश्लेषण छ ।
घटनाबारे समाचारहरूमा आएका विवरणको आधारमा आमाले आत्महत्या गर्ने दृढता लिएको र आफू मरिसकेपछि बालबालिकाले दुख पाउँछन् भन्ने चिन्ताले सबैको ज्यान लिने निधो गरेको हुनसक्ने आफ्नो ठम्याई रहेको मनोविद बिनोद पौडेलले बताउनुभयो ।
