१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा रुपा गाउँपालिकाको आयोजनामा इन्सेक गण्डकी प्रदेश कार्यलय र सगोल कास्कीको सहकार्यमा महिला अधिकार तथा क्षमता अभिवृद्धि कार्यक्रम फागुन २४ गते सम्पन्न भएको छ ।
रुपा गाउँपालिका–६ भिरचोकमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ता तथा सहभागीहरूले आफ्नो अधिकारलाई उपयोग गर्न अगाडि बढ्नुपर्ने धारण राखेका थिए ।
अखिल नेपाल महिला सङ्घकी नेतृ टुका हमालले नेपालको राजनितिक आन्दोलनको परिर्वतनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले अहिले हरेक तहमा महिलाको सहभागिता बढेको बताउँदै सहभागी हुने मात्र नभएर नेतृत्व क्षमतालाई विकास गर्नु पर्ने बताउनुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाबाट विनियोजित महिला लक्षित बजेट र कार्यक्रमहरूको उपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले महिलाहरु अगाडी नबढ्ने हो भने समाजको सकरात्मक बिकासको गति सुस्त हुने बताउँदै आ आफ्नो नेतृत्व क्षमता विकामा लाग्न आग्रह गर्नुभयो ।
महिलाहरुको नेतृत्व क्षमता विकासका लागि गाउँपालिकाले प्रत्येक वडामा कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो ।
गाउँपालिका महिला अधिकारका सवालमा संवेदनशील रहेको उहाँले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङले नीति र कार्यक्रमबाट विनियोजन भएका महिला लक्षित कार्यक्रमप्रति महिलाहरूकै चासो आवश्यक रहने बताउँदै महिलाहरूको सीप तथा क्षमता विकासका लागि गाउँपालिका सदैव तयार रहेको बताउनु भयो ।

अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णा श्रेष्ठले आफ्नो क्षमतालाई प्रस्फुटन गर्न डराउन नहुने बताउनुभयो ।
सगोल कास्कीकी अधिकृत बिमला केसीले घरबाटै छोराछोरीको बीचमा हुने विभेद हटाउनुपर्ने बताउनु भयो ।
इन्सेककी कार्यक्रम अधिकृत सवनम शर्माले महिला अधिकारसम्बन्धी कार्यपत्र प्रस्ततु गर्दै महिला सहभागितामा सकरात्मक परिर्वतन आएता पनि अझै पर्याप्त नभएको बताउनुभयो ।