सर्केगाड गाउँपालिका भित्रका स्थानीयहरू कुहिएको चामल खान बाध्य भएका छन् ।
सर्केगाड गाउँपालिका –१ जैरका दिलबहादुर कार्कीले दुई घन्टा हिडेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बालुकुना डिपोमा गएर कुहिएको चामल ल्याउनु परेको गुनासो गर्नु भयो । ‘डिपोमा कुहिएको चामल मात्रै थियो । घरमा अन्न नभएपछि त्यहि भएपनि ल्याएँ’ कार्कीले भन्नुभयो ।
जैरकै धनगडी बमले पनि ०७७ पुस २४ गते यही डिपोबाट कुहिएको र डल्ला तथा घुन परेकोको चामल ल्याएको दुःखेसो गर्नुभयो । ‘ एक बोरालाई १५ सय पैंसामा पिठ्युँमा बोकेर दुई घन्टा टाढाबाट ल्याएको चामल खोलेर हेर्दा खान मिल्ने खालको थिएन तर फिर्ता गर्न दुई घन्टा हिँड्नुपर्ने दुःखले डिपोमा लगिनँ, गाई भैँसीलाई खुवाएँ,’ बमको भनाई छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको उदासीनता तथा चामल ढुवानी गर्ने ठेकेदारको चरम लापरबाहीका कारण कतिपय जिल्लामा एक–डेढ वर्षदेखि चामल नै नपुगेको र पुगेका ठाउँमा खान योग्य चामल नभएको स्थानीयले पटक पटक आवाज उठाउँदै आएका छन् ।
बालुकुना डिपोमा हिमाल निर्माण सेवा कम्पनीले सुर्खेतबाट मुगुको सोरू कोट हुँदै चामल ढुवानी गरेको थियो । हिमाल निर्माण सेवा मुगुका ठेकेदार बिर्ख टमटाले कुहिएको चामल बिक्री गर्नु भएको हो । उहाँका अनुसार बालुकुना बिक्री केन्द्रमा अझै सात क्विन्टल कुहिएको चामल त्रिपालले छोपेर थन्क्याइएको छ ।

ढुवानी गर्दा गाडीचालकले भिजाएर ल्याएका कारण चामल कुहिएर समस्या आएको ठेकेदार टमटाले बताउनु भयो । बालुकुना बिक्री केन्द्रका लागि अझै चामल ल्याउनुपर्ने भए पनि ठेकेदारले ध्यान नदिएको उहाँको भनाई छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेत कार्यालयका अनुसार सरकारले यो वर्ष हुम्लामा २ हजार ८ सय ७५ टन चामल ढुवानी गर्न २५ करोड ८५ हजार छुट्याएको छ ।
सिमकोट शाखामा नेपालगञ्जबाट हवाईजहाजमा चामल ढुवानी गरेको प्रतिकिलो एक सय १४ रूपियाँ ८० पैसा र सुर्खेतबाट प्रति किलो एक सय १२ रूपियाँ ८० पैसा लाग्छ । मुगुदेखि सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३ हजार रूपियाँका दरले चामल ढुवानी हुने गरेको छ । त्यति महँगोमा ढुवानी गरेको चामल समेत गुणस्तरहीन हुने गरेपछि स्थानीय मर्कामा परेका छन् ।
गत माघ २० गते सर्केगाड डिपोबाट १ हजार तीन सय ५० रू रूपियाँ तोकिएको चामलको बोरा ठेकेदारले २ हजार रूपियाँमा बिक्री गरेको सर्केगाड गाउँपालिका –५ का गगन सिंहले बताउनु भयो ।
ठेकेदारले कुहिएको तथा गनाएको चामल बिक्री गरेको, तोकिए भन्दा महङ्गोमा बेच्ने गरेको लगायतका विषयमा स्थानीयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट शाखा कार्यालयमा पटकपटक गुनासो गरेपनि चासो नदिएको सिंहको भनाई छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखा कार्यालयका प्रमुख निर्मल थापाले दुइजना मात्र कर्मचारी भएकाले सबैतिर ध्यान पु¥याउन नसकिएको बताउनु भयो ।
‘कर्मचारी नहुँदा केही समस्या भयो होला । ठेकेदारले नै चामल बिक्री गरेका ठाउँमा उही जिम्मेवार हुन्छ’ प्रमुख थापाले भन्नुभयो ।
थापाका अनुसार ढुवानी र वितरणमा लापरबाही गरेको भन्दै माघ २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त कम्पनीलाई शत प्रतिशत हर्जना सहित ३८ हजार ६ सय ४० रूपियाँ जरिवाना गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेत कार्यालयका प्रबन्धक माधव मिश्रले केही स्थानमा लापरबाही भएको खबर आउनासाथ कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
खाद्यान्न ढुवानीमा ढिलाइ गर्ने ठेकेदारलाई समेत कारबाही गरिने मिश्रको भनाई छ ।