१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा बालिकाकी आमालाई माघ २८ गते एक महिना कैद सजायको फैसला गरिएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले फैसला सुनाउँदै जाहेरवालालाई एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला गरेको हो ।
प्रहरीद्वारा ०७७ भदौ २१ गते गिरफ्तार भई असोज १६ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा राखिएका खडक नपा–११ का १८ वर्षीय तेजनारायण साहलाई अदालतले निर्दोष साबित गर्दै माघ २८ गते रिहा गरेको छ ।
बालिकाकी आमाले साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीमा भदौ २१ गते उजुरी दिएपछि इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले भदौ २१ गते गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरूपले भदौ २२ गते उजुरी दर्ता गरेको थियो ।
साथी अनिल साहसँगै खाना खान पीडितको घर गएका आरोपितले कोठामा कोही नभएको मौका छोपी बलात्कार गरेको बालिकाले समेत प्रारम्भिक बयान दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ भदौ २१ गते भएको थियो ।
पाँच महिनादेखि चिनजान भई घरकोठामा सँगै बसेको बेला पीडितका परिवारले थाहा पाएर विवाह गर्न दबाब दिएको र नमान्दा प्रहरीमा झुठा उजुरी गरेको साहाले बताउँदै आउनु भएको थियो ।
जिल्ला अदालतमा असोज १५ गते उजुरी दायर भएकामा असोज १६ गते जिल्ला अदालतले साहलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।