जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएका सिभिल प्रहरीले ज्यानलिने धम्की दिएको भन्दै दुइजना युवाहरूले जिल्ला प्रशासन कार्यालयमा स्वतन्त्र पुर्वक बाच्न पाउने मानव अधिकारको रक्षाका लागि निवेदन दिएका छन् ।
भेरी नगरपालिका–३ जाजरकोट का २१ वर्षीय कानिश्चलजङ्ग शाह र धनगडी उपमहानगरपालिका कैलाली घर भई जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली स्थित मामा घरमा बस्दै आएका १९ वर्षीय प्रशान्तबहादुर देउवाले आफूहरूलाई घुमुवा प्रहरी दिपेन्द्र श्रेष्ठ सहितका चार जना सादा पोशाकका प्रहरीले धम्क्याएको बताए ।
‘कारागारमा रहेका साथीलाई भेटेर घर फर्कने क्रममा ०७७ माघ २४ गते प्रहरीले तिमीहरूसँग काम छ हामीसँग हिड भनेर मोटरसाइकलमा राखेर भेरी नगरपालिका ४ रानागाउँ स्थित रेडक्रस भवन नजिकैको जङ्गलमा रोके’ पीडित प्रशान्त देउवाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ‘थाप्लेको पुलहाउसको ढोका फोड्ने र नापी कार्यालयको मोटरसाइकल तोडफोड गर्ने तिमीहरु नै हौ अपराध स्वीकार गर भन्दै कन्चटमा पेस्तोल राखेर जर्वजस्ती अपराध स्वीकार गर्न बाध्य पारेको र त्यसको भिडियो रेकर्ड समेत गरि ज्यान लिने धम्की दिए ।’
प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बुझाइएको निवेदनमा जिल्ला स्थित विभिन्न अधिकारकर्मीहरूलाई समेत बोदार्थ दिइएको छ । निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी बरालले घटनाको सत्य तथ्य बुझेर दोषीलाई कारवाही गर्ने आश्वासन दिनु भएको छ ।
त्यस्तै माघ २७ गते जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापालाई भेटेर घटनाका बारेमा जानकारी गराएको र प्रहरीको गल्ती भएको भए सजाय दिने र आगामी दिनमा यस्ता गल्ती नदोहोरीने प्रतिबद्धता व्यक्त गरेको परिवर्तनका लागि युवा अभियानका अनिशकुमार कार्कीले बताउनु भयो ।
