मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरोधमा याङ्जाकोटमा स्थानियले माघ २१ गते दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने गाडी तोडफोड गरेका छन् ।
छैटौँ गाउँसभाले वडा नम्बर ४ र ५ अन्तरगत मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याङ्जाकोट देउराली, वडा नक्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोट गरी चार विकल्प मध्य गाउँपालिकाको केन्द्र साझा बेतेनीमा सार्ने निर्णयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई पठाएको थियो ।
एक वर्षपछि गण्डकी प्रदेश सरकारले त्यसलाई सङ्घीय सरकारमा सिफारिस गर्ने निर्णय गरेसँगै साविक याङ्जाकोट वा याङ्जाकोट देउराली नै हुनुपर्ने माग गर्दै स्थानिय आन्दोलित बनेका हुन् ।
निर्णयको विरोधमा माघ २० गते मादी गाउँपालिकाको कार्यालयमा लगाएको ताला गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)को निर्देशनमा माघ २१ गते खोलिएपछि उनीहरुले तोडफोड गरेका हुन् ।
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) का अनुसार असन्तुष्ट पक्षले कार्यालयको गेट तोडफोड गरेर ढलाएका छन् । साथै प्रशासकीय अधिकृत चढ्ने ग.३ च.३३५२ नम्बरको स्कार्पियो गाडीको सिसा फुटाएका छन् ।
सङ्घर्ष समितिका संयोजक तथा नेपाली कांग्रेस वडा नम्बर ३ का अध्यक्ष नारायण गुरुङले तोडफोड गर्नु सामान्य भएको बताउनुभयो । उहाँले षडयन्त्रपूर्वक केन्द्र सार्ने निर्णयपछि स्थानियको आक्रोश पोखिएको बताउनुभयो ।
आन्दोलन जारी रहने बताउँदै उहाँले प्रशासनिक कामगर्न नदिने नीति अनुरुप प्रशासकीय भवनमा तालाबन्दी गरिएको बताउनुभयो ।
स्थानीय शासन ऐन अनुसार पालिकाको केन्द्र परिर्वतनका लागि सर्वसमम्त निर्णय गर्नुपर्ने र सर्वसम्मत नभएको खण्डमा दुईतिहाइ बहुमतबाट समेत पारित गरेर प्रदेश र सङ्घ सरकारलाई सिफारिस गर्न सकिने प्रावधान छ ।