माघ १६ गते १ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार २ सय २१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६५ हजार ६ सय ९८ जना निको भएका छन् । माघ १६ गते ३ सय ३३ जना निको भएका छन् भने निको हुनेको दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १६ गतेसम्म २ हजार २५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । ३ हजार २२ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ७ सय ७३ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४७ जनाको उपचार आइसीयूमा र २७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कोभिड-१९ खोप अभियानको दोस्रो दिन माघ १६ गते देशभर ४६ हजार १ सय ९७ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो । नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो ।
| २०७७ माघ १६ गते कोभिड–१९ खोप लगाइएकाका सङ्ख्या | ||
| क्रसं | प्रदेश | सङ्ख्या |
| १ | १ | ७,३६९ |
| २ | २ | ४,६५० |
| ३ | बागमती | १५,६४१ |
| ४ | गण्डकी | ७,१५३ |
| ५ | लुम्बिनी | ४,६३५ |
| ६ | कर्णाली | २,९६६ |
| ७ | सुदूरपश्चिम | ३,७८३ |