INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–५ कुशहाका २० वर्षीय पहाडी भनिने मोहम्मद सहादतलाई माघ १३ गते गिरफ्तार गरेको छ ।

प्रहरीले खोजी गरिरहेको आरोपितलाई गाउँघरबाट फेला पारी गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर बिरेन्द्र पासवानले बताउनु भयो । जिल्ला अदालत सप्तरीले कात्तिक १९ गते आरोपितविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको थियो ।

सुरुङ्गा नपा–५ बसानपट्टीस्थित खेतमा ०७७ भदौ ३० गते घाँस काटिरहेका बेला एकान्त मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले ०७७ असोज ३ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरी प्रहरीले असोज ४ गते दर्ता गरेको छ ।

आरोपितले बलात्कार प्रयास गरेपछि आफूले होहल्ला गरेको सुनेर गाउँलेहरू आएपछि आरोपित फरार भएको पीडितले बताउनु भयो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज ३ गते स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो