INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद फैसला

३० वर्षीया महिलालाई बलात्कार र ठगी गरेको कसुरमा छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई पुस ६ गते १० वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले मेहतालाई जबरजस्ती करणीमा सात वर्ष कैद र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

यसैगरी ठगीमा तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिबाना तिराउने फैसला भएको छ । पीडितले दाबी गरेकोमध्ये ठहर भएको १ लाख ९५ हजार रुपियाँ बिगो भराई पाउने समेत फैसला भएको बुढाथोकीले जानकारी दिनु भयो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने प्रलोभन देखाई आरोपितले पटक–पटक ठगी गर्नुका साथै बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७५ मङ्सिर १४ गते उजुरी दिएकी थिइन् ।

पीडितका अनुसार आरोपितले ०७५ वैशाख ७ गते १ लाख ५० हजार, असार २९ गते ४ लाख, साउन १४ गते ३ लाख, भदौ २२ गते २० हजार र भदौ २९ गते १ लाख ७५ हजार गरी १० लाख ४५ हजार रुपियाँ ठगी गर्नुका साथै २०७५ असोज १९ गते राजविराज नपा–४ स्थित अशोक लजमा बोलाएर बलात्कार गरेका थिए ।

प्रहरीले ०७५ मङ्सिर १४ गते आरोपितलाई गिरफ्तार गरी ठगी तथा बलात्कारको छुट्टा–छुट्टै उजुरी दर्ता गरी कारवाही अगाडि बढाएको थियो ।

पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ मङसिर १६ गते स्वास्थ्य परीक्षण भएको थियो ।

जिल्ला अदालतको आदेशमा ०७५ पुस १२ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो