INSEC Online

📅 २०८३ जेष्ठ २१

सार्वजनिक यातायातमा छुट नपाएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक यातायातमा दिइने छुट आफूहरूले  नपाएको गुनासो गरेका छन् ।

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत भाडा छुट हुने व्यवस्था भएपनि कार्यान्वयन नभएको जिल्ला अपाङ्ग उत्थान केन्द्र जाजरकोटका अध्यक्ष यमबहादुर बस्नेतले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

भेरी नगरपालिका–६ भेरे स्थित लक्ष्मी माविमा कक्षा ८ मा अध्ययनरत नारायण नगरपालिका –१ दैलेखका १४ वर्षीय गङ्गे अधिकारीले आफू दृष्टी विहीन रहेको र सार्वजनिक यातायातमा छुट माग्दा उल्दै दुव्र्यवहार भोग्नु परेको दुःखेसो पोख्नुभयो ।

यस्तै बारेकोट गाउँपालिका–७ लुहागका २६ वर्षीय बिशालकिरण बस्नेतले पनि अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने छुट नदिएको गुनासो गर्नुभएको छ । साथै उहाँले यातायातमा अपाङ्ग व्यक्तिहरूको लागि सिट पनि नतोकिएकोले समस्या भइरहेको बताउनुभयो ।

खलंगा डोल्पा यातायात प्रालिका अध्यक्ष नवराज सिंहले आरक्षणको लागि दिइएको सुविधा सिटको व्यवस्था व्यवहारमा लागू नभएको कुरा स्वीकार गर्नुभयो । यस विषयमा आगामी दिनमा यातायात व्यवसायीलाई सरकारले दिने सुविधाका आधारमा छुटको व्यवस्था गर्न सकिने पनि सिंहको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यस विषयमा केही दिनमा यातायात व्यवसायीहरूसँग बैठक राखेर समस्या समाधानका लागि पहल गरिने बताउनु भयो ।

अन्य

भिडियो