खार्पुनाथ गाउँपालिका–३ मा रहेको जल विद्युत आयोजनाको पावरहाउस तोडफोड गरेको आरोपमा सोही ठाउँका नेपकपाका चारजना कार्यकर्ताविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
तोडफोडमा संलग्न भएको भन्दै खापुनाथ गाउँपालिका –३ को कार्यालयले कात्तिक २० गते सोही ठाउँका नेकपा जिल्ला सचिवालय सदस्य ४७ वर्षीय प्रेमबहादुर बुढा, गाउँ कमिटी सदस्य ३६ वर्षीय तुलबिर बुढा, गाउँ कमिटी सचिवालय सदस्य ४६ वर्षीय बलविर रावल र ३५ वर्षीय कणर्बहादुर बुढाबिरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आरोपितहरूले कात्तिक १७ गते पावरहाउस तोडफोडबाट विद्युत अवरोध हुँदा उक्त ठाउँका करीब ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको अध्यक्ष रावलको भनाई छ ।
१७ वर्षदेखि बन्न नसकेको विद्युत आयोजना ०७७ कात्तिक १४ गतेमात्र सम्पन्न भइ प्रयोगमा आएको आयोजना निर्माण समितिका अध्यक्ष टेकबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार तोडफोट गर्दा मेसिनको नोजल, हिटर ट्याङ्की, गेडबल लगायतमा असर पुग्दा ५ लाख ६० हजार बराबरको क्षति भएको छ ।
बुढाले थप्नुभयो–‘विद्युत निर्माण समितिमा आफ्नो पार्टीका कार्यकर्तालाई नराखेको भन्ने कुराको प्रतिशोधले तोडफोड गर्नुभएको हो ।’
घटनाबारे अनुसन्धानका भइरहेको कार्यालयका डिएसपी सुर्यप्रकाश सुवेदीले बताउनुभयो ।