INSEC Online

📅 २०८३ जेष्ठ २१

पीसीआर परीक्षण गर्न कैदीबन्दीहरूको माग

कोभिड –१९ को संक्रमण बढ्दै गएपछि जिल्ला कारागार सल्यानमा रहेका कैदीबन्दीले आफ्नो पीसीआर परीक्षण गर्न माग गरेका छन् ।

क्षमता भन्दा झण्डै सात गुणा बढी कैदीबन्दीहरू कारागारमा बस्नु पर्ने बाध्यता रहेको समयमा नयाँ कैदीबन्दीबाट कारागारमा समेत कोरोना संक्रमणको जोखिम रहेकाले पीसीआर परिक्षण गर्न उनिहरुले माग गरेका हुन् ।

क्षमता भन्दा बढी कैदीबन्दी भएकाले सामाजिक दुरी समेत कायम गर्न नसक्ने अवस्था रहेकाले पीसीआर परीक्षण गर्न आवश्यक रहेको कारागारका नाइके हरिलाल अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत बताउनुभयो ।

घ वर्गको उक्त कारागार २० जना कैदीबन्दी राख्ने क्षमताको हो । तर मिलेर बस्दा ४० जना सम्म राख्न सकिने भएपनि अहिले १ सय ४८ जना बसिरहेका छन् ।

कैदीहरुले पटकपटक पीसीआर परीक्षण गर्नुपर्ने माग राखेपछि यस विषयमा आफूले जिल्ला प्रशासन कार्यालय सल्यानमा तीन साता अघि पत्र पठाइ सकेको तर कुनै जानकारी भने नआएको नाइके अधिकारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले नेपाल सरकारले लक्षण नदेखिएको खण्डमा कसैको पनि स्वास्थ्य परीक्षण नगर्न निर्देशन जारी गरेको कारण कैदीबन्दीहरूको स्वाब परीक्षण नगरिएको जानकारी दिनुभयो ।

हाल कारागारमा चार नाबालक सहित २३ जना महिला र १ सय २५ जना पुरुष गरी १ सय ४८ जना कैदीबन्दी रहेको जेलर केसिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारागारमा पुरूषको लागि ६ वटा र महिलाका लागि २ वटा मात्र कोठा मात्रै रहेका छन ।’

कैदीबन्दीको चाप अत्याधिक भएकाले २२ जना पुरुष कोठा बाहिर सुत्न बाध्य भएको जेलर केसीको भनाई छ ।

अन्य

भिडियो