सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने काठमाडौँमा पुस २ गते आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा अयोजित ‘कामदारको सुनुवाइ कार्यक्रम’का सहभागीले तालिमबिना वैदेशिक रोजगारीमा जाँदा न्यून ज्याला पाउने, दुर्घटना हुनेजस्ता समस्या भोग्नुपरेको वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो अनुभव सुनाएको राससले जनाएको छ ।
ओमनबाट फर्किएकी अस्मिता तामाङले तालिमबिनै वैदेशिक रोजगारीमा गएकाले आफूले धेरै समस्या भोग्नुपरेको अनुभव सुनाइन् ।
ओमनबाट फर्किएपछि अहिले खाजा घर र पानीपुरीको व्यापार चलाएर राम्रो आम्दानी गरेको अनुभव सुनाउँदै काम गरे नेपालमै पनि विदेशमाभन्दा बढी आम्दानी गर्न सकिने उनको अनुभव छ ।
दुई वर्षअघि मलेसिया गई बिमार भई नेपाल फर्किनुभएका राजु काफ्लेले अर्काको नाममा आएको प्रवेशाज्ञामा दलालले आफूलाई पठाउँदा बिचल्लीमा परेको बताए ।
उनले भने-“रङ लगाउने र प्याकिङ गर्ने काममा रोजगारी दिने भन्दै लगेकामा मलाई मलेसिया पुगेपछि फलामको काम गर्ने कम्पनीमा काम लगाइयो । त्यही कारण मलाई ब्रेन ट्युमर भयो ।”
दक्षिण कोरिया जान भाषा सिक्दै गरेकी जुनु तामाङले गोलभेँडा खेतीमार्फत गत वर्ष १ लाख ७० हजार रुपियाँ फाइदा गरेपछि अहिले विदेश जाने चाहना परित्याग गरेको बताइन् ।
राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन श्रम तथा रोजगार मन्त्रालय थप सक्रिय बन्न आवश्यक रहेको धारणा राखिन् ।
एक देशका मानिस अर्को देशमा काम गर्न जाँदा उनीहरूमाथि पारिश्रमिक तथा अन्य सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको आदि विभिन्न कारणबाट आप्रवासीहरुमाथि हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले १९९० डिसेम्वर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरी सन् २००३ जुलाई १ देखि लागू गरेको छ । यसै दिनको सम्झनामा डिसेम्वर १८ का दिन विश्व अप्रवासी दिवस मनाउने गरिएको छ ।