INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा सदस्यमाथि आक्रमण गर्ने दुई आरोपित गिरफ्तार

कञ्चनरूप नपा–८ का वडा सदस्य ३० वर्षीय संजय पासवानलाई सोही ठाउँका २५ वर्षीय बिरेन्द्र सरदार र उनका भाई २२ वर्षीय सुरेश सरदार लगायतले वैशाख ७ गते कुटपिट गरी घाइते बनाएका छन् ।

कोरोना प्रभावितहरूलाई राहत वितरण गरेर घर फर्किने क्रममा आरोपितहरूले वडा सदस्य पासवानमाथि आक्रमण गरेको ईलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो । डिएसपी मिश्रका अनुसार आरोपितहरूलाई घटनास्थलबाटै गिरफ्तार गरी अन्य आरोपितहरूको खोजी भइरहेको छ ।

घाइते पासवानको टाउकोमा चार ओटा टाँका लागेको छ । पासवानलाई जोगाउने क्रममा उनका भाई २५ वर्षीय अजय पासवानलाई समेत शरिरको विभिन्न भागमा चोट लागेको छ । घाईते दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपमा प्रथामिक उपचार पश्चात थप उपचारका लागि धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले बताउनु भयो ।

आरोपित सरदारले राहत लिनेहरूको नामावलीमा आफ्नो परिवारका सदस्यहरूको नाम छुटाएको भन्दै वडा कार्यलयमै झगडा गरेको वडाअध्यक्ष राजकुमार साहले जानकारी दिनु भयो । झगडा साम्य भएपछि घर जाने क्रममा वडा सदस्य पासवानमाथि आक्रमण गरिएको वडा अध्यक्ष साहले बताउनु भयो ।

अन्य

भिडियो