सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिमार्फत हालसम्म २ हजार बढीको नमूना सङ्कलन गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार फागुन १ गतेबाट नमूना सङ्कलन सुरुगरेदेखि २ हजार १ सय ७९ जनाको नमूना सङ्कलन भएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रका अनुसार हालसम्म ६ सय २९ जनाको मात्रै परीक्षण रिपोर्ट आएको छ भने १ हजार ५ सय ५० को रिपोर्ट आउन बाँकी छ । चैत २९ गते ५३ जना र चैत ३० गते ७० जनाको नमूना परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपलकालीन केन्द्रले जनाएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा दुई ओटा प्रयोगशाला सञ्चालनमा रहेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २ हजार २ सय ३१ जनाको र्यापिड टेष्ट गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस प्रदेशमा हालसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत ३० गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको छ ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार अपिहिमाल गाउँपालिकाले गाउँपालिकाभित्रका असङ्गठित, गरिब र असहाय व्यक्तिलाई खाद्यान्न वितरण गर्ने भएको छ । गाउँपालिकाको चैत ३० गते बसेको बैठकले चैत ५ गतेभित्र तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता रविन्द्रसिंह बोहराले जानकारी दिनु भयो ।
मार्मा गाउँपालिकाले चैत ३० गतेदेखि मार्मा क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई राहत वितरण सुरु गरेको छ । पहिलो चरणमा राहत पाएकाहरूलाई नदोहोर्याउने गरी दोस्रो चरणका २ सय ३३ घरधुरीका १ हजार ४ सय ५ जनालाई राहत वितरण सुरु गरिएको गाउँपालिका प्रवक्ता वीरेन्द्र बोहराले बताउनु भयो । जसअनुसार गाउँपालिकाले १ वडामा ७० घरधुरी, २ वडामा ४६ घरधुरी, ३ वडामा ६४ घरधुरी, ४ वडामा २० घरधुरी, ५ वडामा २७ घरधुरी र ६ वडामा ६ घरधुरीलाई राहत वितरण सुरु गरिएको हो ।
दैनिकरूपमा भारी बोकेर गुजारा चलाउँदै आएका महाकाली नगरपालिका-४ का १० दलित परिवारलाई सोही गाउँपालिकाका श्याम सिनालले खाद्यान्न सहयोग गर्नुभएको छ । महाकाली किनार नजिकै बस्दै आएका दलित परिवारमा अहिले काम नपाएर खाद्यान्नको समस्या भएको थियो । गिट्टी कुट्ने, बालुवा बोक्ने र भारतको धारचुलाबाट भारी बोकेर गुजारा चलाउँदै आएका यी परिवारमा लकडाउनपछि दैनिक छाक टार्न समस्या हुँदै आएपछि राहतस्वरूप खाद्यान्न सहयोग गरिएको हो ।
सिनालले प्रति परिवार आठ किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक किलो नुन र एक पिस साबुन सहयोग गरेका छन् ।
वितरण गरेको खाद्यान्नले लामो समयसम्म नपुग्ने भए पनि नयाँ वर्ष २०७७ को पहिलो दिन उनीहरूसँग खाद्यान्न नभएर खल्लो नहोस् भन्नको लागि थोरै भए पनि राहतस्वरूप खाद्यान्न सहयोग गरेको सिनालको भनाइ छ ।
मार्मा गाउँपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा प्रचारप्रसारमा खटिएका स्वास्थ्य स्वयम्सेविकाहरूलाई ५ हजार रुपियाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । मार्मा गाउँपालिकाको चैत २९ गते गाउँपालिका अध्यक्ष जमनसिंह धामीको अध्यक्षतामा बसेको बैठकले ६ ओटै वडामा महामारीको समयमा अहोरात्र प्रचारप्रसारमा खटिएको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन तथा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई लकडाउन अवधिभर खाइपाइ आएको तलबमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनु भयो । कोराना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयम्सेवक परिचालनसम्बन्धी मार्गदर्शन २०७६ बैठकले अनुमोदन गरेको छ भने सोहीअनुसार वडा तहमा स्वयम्सेवक परिचालन गर्न निर्देशन गरिएको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको १ सय ३३ जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चैत २९ र ३० गते १ सय ३३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसेका नागरिकहरूको र्यापिड टेस्ट गर्दा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको भट्टले जानकारी दिनु भयो ।
यसैगरी, सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत १३ जना, जिल्ला अस्पताल, बैतडीको आइसोलेसनमा भर्ना भएका एक जना र अन्य दुई जना प्रहरीको र्यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा. बसन्तराज जोशीले जानकारी दिनु भयो । आसोलेसनमा राखी उपचार भइरहेका बिरामी र जिल्लामा ४ सय २५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएकोमा उनीहरूको रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जनाएको छ ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार डडेल्धुरा अस्पतालबाट चैत २९ गते भागेका दुई जनाको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिनु भयो । कोरोना भाइरसको आशङ्कामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा चैत २५ गते भर्ना गरी उपचार भइरहेकोमा उनीहरू अस्पताललाई कुनै जानकारी नदिई भागेको निमित्त मेसु विष्टको भनाइ छ । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना सङ्क्रमणको आशङ्कामा सोही दिन स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरी चैत २६ गते काठमाडौँ पठाइएको थियो । निमित्त मेसु विष्टका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो । अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका-३ नानीगाडका आमा-छोरा हुन् । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले विसु पर्व घरमै बसेर मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । सुदूरपश्चिमबासीको मौलिक सांस्कृतिक पर्वको रूपमा मनाइँदै आएको विसु पर्व घरमै बसेर मनाउन प्रशासनले आग्रह गरेको हो । कोरोनाको त्रासले र लकडाउनका कारण अहिले सुदूरपश्चिमका पहाडी जिल्ला सुनसान छन् । विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा धुमधाम मनाइने यो पर्व कोरोना भाइरसका कारण घरभित्रै मनाउन प्रशासन र यहाँका स्थानीय सरकारले अनुरोध गरेका हुन् । अनावश्यक भीडभाड नगर्न र सामाजिक दूरी कायम राख्न पनि प्रशासनले अनुरोध गरेको छ ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार नेपाल भारत सीमा गौरीफन्टाबाट उद्धार गरेर ल्याएका १२ महिलासहित ५३ जनालाई कोरोना सङ्क्रमणको आशङ्कामा १८ दिनदेखि जिल्लास्थित सदरमुकाम मङ्गलसेनस्थित क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई चैत ३० गते घर पठाएको छ । क्वारेन्टाइनमा रहेका सबैको चैत २५ गते काठमाडौँबाट आएको डाक्टरसहितको प्राविधिक टोलीले थ्रोट स्वाब नमूना सङ्कलन गरेको थियो । नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनु भयो । रोजगारीको क्रममा भारतलगायत अन्य मुलुक गएका ४ हजारभन्दा बढी व्यक्तिहरू चैत महिनामा फर्किएको जनाइएको छ । उनीहरू स्वाब परीक्षणबिना नै घरमै बस्दै आएका छन् ।
प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालले दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरूलाई राहत वितरण गर्नुपर्ने, सीमामा रोकिएका व्यक्तिको उचित व्यवस्थापन गर्नुपर्ने र कोरोना शङ्कास्पद सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेको छ । मानव अधिकार रक्षक सञ्जाल सुदूरपश्चिमस्तरीय समितिले चैत ३० गते प्रेश विज्ञप्ति जारी गरेर सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्न गरेका निर्णयहरू सबैले पालना गर्नुपर्ने बताइएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाले ३० लाख रुपियाँको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गरेको छ । गाउँपालिकामा रहेका ६ वडाका विपन्न परिवारलाई खाद्यान्न अभावका र परिवार सङ्ख्याका आधारमा खाद्यान्न वितरण गर्ने निर्णय चैत ३० गते गरिएको गाउँपालिका उपाध्यक्ष लोकेन्द्र साउँदले जानकारी दिनु भयो । राहत दिनुर्ने व्यक्तिहरूका नामावली आइसकेको र खाद्यान्नसमेत खरिद भइसकेकोले केही दिनमै राहत वितरण गर्ने उपाध्यक्ष साउँदको भनाइ छ । यसैगरी, ६ ओटै वडामा कम्तिमा १० बेडको क्वारेन्टाइन निर्माण गर्ने समेत गाउँपालिकाले निर्णय गरेको साउँदले बताउनु भयो ।
उद्योग वाणिज्य सङ्घ, अछामले जिल्लाका व्यापारी र व्यवसायीलाई नियमित मूल्यमै ग्राहकलाई सेवा दिन अपिल गरेको छ । उद्योग वाणिज्य सङ्घले चैत ३० गते विज्ञप्ति जारी गरी ग्राहकलाई ठग्ने वा कालोबजारी गरिएको पाइएमा कडा कारवाही गर्ने जनाएको छ । कसैले तोकिएको मूल्यभन्दा बढी लिने, लुकाइछिपाइ गर्ने, अभाव सृजना गर्ने र नियमविपरीत गरेमा सङ्घलाई सूचना दिनसमेत आग्रह गरेको छ ।