कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेकको लकडाउन र स्थानीय प्रशासनले जिल्लाभरि जारी गरेको निषेधाज्ञाको प्रभाव दैनिक उपभोग्य सामानमा देखिन लागेको छ ।
उपभोग्य सामानहरूको नियमित आपूर्ति नहुँदा बजारमा तरकारी फलफूललगायतका उपभोग्य सामानको अभाव देखिन लागेको हो ।
इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नराज पथिकका अनुसार स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेदेखि सदरमुकाम मन्थली, पुरानो सदरमुकाम रामेछापलगायतका बजारहरू पूर्णरुपमा बन्द रहेका छन् । बजारमा लाग्ने साप्ताहिक हाट समेत रोकिएका छन् । जसले गर्दा किसानको उत्पादन हाट बजारमा आउन पाएको छैन ।
मन्थली बजारमा रहेका उपभोग्य सामानका पसलहरू पनि एकहप्तादेखि बन्द छन् । यसले गर्दा स्थानीयलाई उपभोग्य सामान खरिदमा समेत केही समस्या देखिएको छ । पसलहरू नखुल्दा सामान खरिद गर्न समस्या भएको स्थानीय शंकर बरुवालले बताउनु भयो ।
मन्थली बजारका अधिकांश फलफूल तथा तरकारी पसलहरू बन्द भएका छन् । अहिले सामान ल्याउन समस्या भएको न्यु जनरल सफल स्टोर मन्थलीका सञ्चालक रमेश तामाङले बताउनु भयो । अहिले मन्थली बजारमा टमाटरको मुल्य १ सय २० रुपैयाँ पुगेको छ । सोही अनुसार अन्य तरकारी र फलफूलको पनि मुल्य बढेको तामाङ्ले बताउनु भयो ।
रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीका अनुसार तरकारी र खाद्यान्न ढुवानी गर्ने गाडीहरूलाई पास दिएर ढुवानीको लागि पठाउने व्यवस्था मिलाइएको छ ।
यसैबीच लकडाउन तथा कर्फ्यु जारी रहेको रसुवा जिल्लामा ताजा तरकारीसँगै खाद्यान्नको अभाव हुन थालेको इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले बताउनु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च रसुवाका अध्यक्ष विश्व घलेले बाहिरबाट आउने तरकारीको बजार भाउ निकै महङ्गो भएको बताउनु भयो । यसअघि गोलभेडा प्रति किलो १ सय रुपियाँ भएकोमा अहिले २ सय रुपियाँ पुगेको छ । हरियो सागपातलगायत स्थानीय उत्पादन भने खासै महङ्गो भएको छैन ।
गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेका कामीनुर्पु तामाङले लकडाउनका कारण दैनिक उपभोग्य सामग्री पहिले नै जोहो गरेकोले समस्या नभएको बताउनु भयो । ‘किन्न र जोहो गर्न सक्नेले एक महिनाको लागि पुग्ने खाद्यान्न जोहो गरेपनि विपन्न वर्गको लागि समस्या रहेको उहाँले बताउनु भयो । जिल्लाको सदरमुकाम धुन्चे, कालिकास्थान, जिवजिवे बेत्रावती लगायतका बजारमा दैनिक उपभोग्य बस्तु दाल, चामल, चिनी, नुनलगायत अभाव नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै नुवाकोटबाट इन्सेक प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लाका निषेधाज्ञ जारी रहेपनि अत्यावश्यक सेवाहरु सुचारु छन् । खाद्यान्न ढुवानी, तरकारी, दुग्धजन्य उत्पादनहरूको वितरण तथा ढुवानी गर्न तथा खाद्यान्नसँग सम्बन्धित पसलहरू निर्वाध रुपमा सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनु भयो । जिल्लामा खाद्यान्न तथा औषधि ढुवानीमा कुनै समस्या हुन नदिएको, खाद्यान्नको अनावश्यक भण्डारण तथा मूल्यवृद्धि पनि जिल्लामा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।