बलान बिहुल गाउँपालका–३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी चैत १७ गते कारवाहीमा परेका छन् ।
नेपाल–भारत सीमा–नाका बन्द र लकडाउनको समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका साह र यादवलाई कुटपिट गरेको आरोपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।
भारत बिहारको लौकाहाबाट दैनिक उपभोग्य सामाग्रीसहित आएका साह र यादवलाई सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हवल्दार चौधरीले निर्ममतापूर्वक कुटेको भिडियो चैत १७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
भिडियोमा कुटेर लाठी भाँचेको, घोप्टो पारेर कुटेको, कुहिना र घुँडा टेक्न लगाएर हिँडाएको देखिन्छ ।
कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमणको महामारी रोकथामको लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिनुभयो । आदेशविपरित सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनु भयो ।
लकडाउन उल्लङ्घन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन सुरु गरेको जनाएको छ ।