दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरूको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले चैत १७ ग्वाङखोलामा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत वितरण गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगर प्रवक्ता कर्णबहादुर घिसिङले घरमै पुगेर राहत वितरण गनुभएको हो ।
उक्त प्याकेजमा १० देखि १५ दिनलाई पुग्ने गरि अत्यावश्यक खाद्य सामग्रीहरू चामल, दाल, आलु, नुन, चिनी, वेसार, तेललगायत राखिएको छ ।
बन्दाबन्दिको अवधिमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने कमलामाई नगरक्षेत्र भित्रका ३३ जनालाई चैत १७ गते राहत उपलब्ध गराईएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताउनु भयो ।
राहत प्याकेजले १० देखि १५ दिनसम्मको लागि पुग्ने अनुमान गरिएको छ । प्याकेजमा, चामल २० के जी, दाल ३ के जी, चिनी १ के जी, आलु २ के जी, बेसार ५० ग्राम, तेल १ लिटर र नुन १ के जी राखिएको छ ।
प्रति प्याकेज १ हजार ८ सय १० रुपियाँ बराबरको लागतको रहेको छ । नगरपालिकाले अन्य मजदुरहरूलाई पनि प्याकेज वितरण गरिने जनाएको छ । विशेषगरि दैनिक ज्याला मजदुरी गरि जीविका चलाउनहरूका लागि नगरपालिकाले उक्त प्याकेज ल्याएको जनाएको छ ।
लकडाउनका बेलामा कोही पनि भोकले मर्न पर्ने अवस्था नआओस भनेर उक्त प्याकेज ल्याइएको नगरपालिकाका मेयर खड्ग खत्रीले बताउनु भयो । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भनि सरकारले गरेको लकडाउनका कारण मजदुरहरूले खान नपाएको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियान सुरु गरेको हो । नगरपालिकाले नगरभित्रका सबै मजदुरहरूलाई राहत दिने जनाएको छ ।
पहिलो र दोस्रो चरणमा गरि नगरपालिकाले करिब ५ सय जनाको सूचि राहत दिनका लागि तयार गरेको छ भने विपन्न र मजदुरहरू पत्ता लगाउन जनप्रतिनिधिहरू, टोल विकास संस्थाहरूलाई परिचालन गरेको छ । नागरिकको खाद्य अधिकारलाई सम्बोधन गर्दै आफूहरूले यस्तो काम थालेको मेयर खत्रीले बताउनु भयो ।