INSEC Online

📅 २०८३ जेष्ठ २२

कालो वर्ण भएको भन्दै विवाह स्थगित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी मालतीकुमारी सदासँग बोदे बर्साइन नपा–५ सिलहटका श्रवण सदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कालो वर्ण भएको भन्दै स्थगित भएको छ ।

photo20200316saptari

स्वयम्बर भएपछि श्रवणले एक्कासी केटी मन नपरेकोले विवाह नगर्ने भन्दै मण्डपबाट भागेपछि विवाह स्थगित भएको स्थानीय जयप्रकाश ठकुरले बताउनु भयो । दुबै पक्षका अभिभावकले एक अर्काको घर गई श्रवण र मालतीलाई हेरेर विवाहको कुरा छिनेका थिए । श्रवणले भने बुवा शम्भुले मन पराएको युवतीसँगै विवाह गर्ने भनी मालतीको फोटो मात्र हेरेका थिए ।

विवाहको लागि पूर्वसहमतिअनुसार फागुन २९ गते साँझ जन्तीसहित बेहुला लोखरमस्थित बेहुलीको घर पुगे । विवाहको सम्पूर्ण तयारी अनुसार बेहुली पक्षले भोज खाए । जन्तीका लागि खाना पकाइएको थियो । बेहुलीको घरमा एक सातादेखि उनका आफन्त, नातागोता र छरछिमेकहरूको बाक्लो उपस्थिती थियो ।

स्वयम्बर पछि जन्ती नास्ता खान थाले । बेहुलाले भने आफूले सोचे जस्तो राम्री बेहुली नभएकाले विवाह गरेर घर नभित्र्याउने घोषणा गरे । श्रवणका बुवा शम्भु सदाका अनुसार सुरुमा बुवाले हेरेको युवतीसँग विहे गर्ने भन्यो, अहिले कालो वर्णकी बेहुली भएकाले मन परेन भन्यो । विवाहको लागि सम्पूर्ण तयारी गरिए पनि अन्तिम घडीमा बेहुलाले विवाह गर्न अस्विकार गरे पछि बेलुही पक्ष ८० हजार रुपियाँको आर्थिक मारमा परेको बेहुलीका बुवा महेन्द्र सदाले बताउनु भयो ।

गरिब, दलित र कमजोर आर्थिक अवस्था भएका महेन्द्रले छोरीको विवाहका लागि ब्याजमा ऋण लिएर सबै तयारी गर्नु भएको थियो । विवाह रोकिएपछि आर्थिक मारमा पर्नुका साथै स्वयम्बर भइसकेकी युवतीको अर्को विवाह गर्न धेरै दाइजो दिनु पर्ने महेन्द्रले बताउनु भयो ।

वर्ण र रङ्गकै कारण विवाह गर्न अस्विकार गरी फरार हुने युवकलाई कारवाही गर्नुपर्ने भन्दै गाउँलेहरुले बेहुलाका बुवालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाएको छ । इलाका प्रहरी कार्यालय सखडाले आवश्यक कारवाहीका लागि शम्भुलाई चैत १ गते जिल्ला प्रहरी कार्यालय पठाएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले वर्णकै आधारमा विवाह गर्न अस्विकार गरी विवाहस्थलबाट फरार हुने युवकलाई कानुन बमोजिम के–कस्तो कारवाही हुनेबारे जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल भइरहेको बताउनु भयो ।

वर्णकै कारण विवाह गर्न अस्विकार गर्ने केटासँग जबरजस्ती विवाह गरेर सुखी जीवन नहुने भन्दै  बेहुली मालतीले स्वयम्बर समेत भइसकेपछि विवाह नगर्नेलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।

अन्य

भिडियो