लैङ्गिक हिंसाका घटनाहरू बढ्दो क्रममा रहेको तथ्याङ्क आएकाले त्यस्ता हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी संयन्त्र विकास गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समाप्तिसँगै १६ दिनको अवधिमा अभिलेख गरिएका हिंसाका घटनाको तथ्याङ्क सार्वजनिक गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।
१६ दिनको अवधिमा देशभरमा २ सय ७१ ओटा हिंसाका घटना अभिलेख गरिएको विज्ञप्तिमा जनाइएको छ ।
‘यो अवधिमा पाँच जना महिलाको परिवारजनबाट हत्या भयो । कथित बोक्सीको आरोपमा तीन जना, यौन दुर्व्यवहारमा दुई जना, नौ जना महिलामाथि बलात्कार तथा तीन जना महिलामाथि बलात्कार प्रयासका घटना भए । बहुविवाहका कारण चार जना, बालविवाहका कारण दुई जना, बेचबिखनको प्रयासका कारण तीन जना पीडित भएको इन्सेकले अभिलेख गर्यो ।’-विज्ञप्तिमा भनिएको छ । यो अवधिमा घरेलु हिंसाका २ सय ४२ ओटा घटना अभिलेख भएको पनि इन्सेकले जनाएको छ ।
‘जिल्ला प्रहरी कार्यालय तथा त्यस मातहतका कार्यालयमा दर्ता भएका घरेलु हिंसासम्बन्धी अधिकांश घटनामा प्रहरीले मिलापत्र गराएको पाइयो । घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथमिकता दिनुपरेको प्रहरी कार्यालयहरूले जनाए । यो ऐनको कमजोरीको फाइदा उठाउँदै जघन्य खालका घरेलु हिंसाका घटनामा पनि मेलमिलाप गर्ने परिपाटी कायम रह्यो ।’-जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमार्फत सरकारलाई दिइएको सुझावमा भनिएको छ-‘घरेलु हिंसाका प्रकृति अनुरूप सजायको कानुनी प्रावधान तर्जुमा गर्नुपर्ने । बलात्कार, बलात्कार दुष्प्रयास, यौन दुर्व्यवहारका घटनाको उजुरीको हदम्याद बढाउनुपर्ने । कथित बोक्सीको आरोपमा गरिएका प्रताडना र दुर्व्यवहारबाट भएको मानसिक, सामाजिक, पारिवारिक पीडाबोधको कुनै हर्जाना हुन सक्दैन । यर्सथ पीडकबाट प्राप्त जरिबाना हानिपूरण स्वरूप पीडितलाई उपलब्ध गराउनुपर्ने । बलात्कार पीडित महिलालाई मनोसामाजिक परामर्शका साथै आवश्यकताअनुसार परिवार र समाजमा घुलमिल हुने वातावरण तयार गर्नुपर्ने ।’
“महिला हिंसा दिवसको अवसरमा घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज” भन्ने नाराका साथ मनाइएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डिसेम्बर १० तारिखमा सम्पन्न भएको छ । हरेक वर्षनोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।