नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हकको उल्लङ्घन गरी अखाद्य चिनी आयात गरेको भन्दै फागुन ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
अखाद्य चिनी आयातकर्ता र संलग्न पदाधिकारीहरूलाई कारवाहीको माग गरी कलैया उपमहानगरपालिका–५ निवासी उपभोक्ता हित संरक्षण मञ्च नगर कमिटी अध्यक्ष ४७ वर्षीय नरेशकुमार मोदकले फागुन ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको हो । उहाँले अनुष्का मल्टिप्रपोज कम्पनी प्रा.लि. कागेश्वरी मनोहरा काठमाडौँलाई उपभोत्ता अधिकार ऐन २०७५ बमोजिम हदैसम्मको कारवाही गर्न उजुरीमा माग गरेको बताउनु भयो ।
फागुन २५ गते साँझ अनुष्का मल्टिप्रपोज कम्पनी प्रा.लि. कागेश्वरी मनोहरा काठमाडौँको नाममा जलेश्वर भन्सार कार्यालय हुँदै भारतबाट आयात गरिएको ट्रक नम्वर क्रमशः ना ८ ख २१५२, ना ७ ख ८३७९ र ना ५ ख ५६७३ मा लोड भएर काठमाडौँ जाँदै गरेको अवस्थामा राजश्व अनुसन्धान कार्यालय पथलैयालाई मौखिक जानकारी दिएको मोदकले बताउनु भयो । फागुन २५ गते राती १ः०० बजे राजश्व अनुसन्धान कार्यालय पथलैयाले ट्रक नम्वर ना ८ ख २१५२ र ना ५ ख ५६७३ नियन्त्रणमा लिएको मोदकले बताउनु भयो । फागुन २९ गते विहान ५ः०० बजे राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।
खाद्य्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर महोतरीले च.नं ७४१/ २०७६/०७७ फागुन २५ गते अखाद्य्य र गुणस्तरहीन चिनी रहेको प्रतिवेदन जलेश्वर भन्सार कार्यालयलाई फागुन २५ गते बुझाएको रेकर्ड रहेको उजुरीमा मोदकले दावी गर्नु भएको छ । आयातकर्ता र भन्सार कार्यालयलाई नेपाल अधिराज्यको संविधान अनुसार कारवाही गर्न माग गरेको मोदकले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले उजुरी अध्ययन गरी कुन कानून अल्लङ्घन भए नभएको सम्बन्धित कार्यालयसँग पहल गर्ने बताउनु भयो । उहाँले कसैले पनि कानुन उल्लङ्घन गर्न मिल्दैन यदी उल्लङ्घन गरेको भए कानून अनुसार कारवाही गर्न पहल गर्ने बताउनु भयो ।