नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला अध्यक्ष हेटौडा उमनपा–१६ निवासी ४० वर्षीय इन्द्रबहादुर नकडोली परियारलाई फागुन २५ गते दिउँसो प्रहरीले गिरफ्तार गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीको कमाण्डमा रहेको प्रहरी टोलीले जितपुरसिमरा उमनपा–७ जितपुर बजारमा बा २७ प १९९१ नम्बरको पल्सर बाइकबाट परियारलाई गिरफ्तार गरेको हो ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको बारा जिल्ला इन्चार्ज र नारायणी ब्यूरो सदस्य रहेको आरोपमा परियारलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।
०७६ फागुन २६ गते प्रेस विज्ञप्ति जारि गर्दै जिल्ला प्रहरी कार्यालय बाराले ०७६ पुस १५ गते जितपुरसिमरा उमनपा–१६ मा रहेको एनसेल टावरमा र सोही दिन सोही उमनपा–११ फट्टेपुरमा रहेको अर्को एनसेल टावरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत बारामा मुद्दा चलाइएको डिएसपी गौतमले जानकारी दिनु भयो ।
परियारका साथबाट पर्चा, पम्पलेट र मोबाइल सेटहरू बरामद भएको डिएसपी गौतमले बताउनु भयो । गिरफ्तार परियारको स्वास्थ्य परीक्षण सिमराको अल्पाइन अस्पतालमा गरी कसुरहरूको सुक्ष्म अनुसन्धान गरीरहेको डिएसपी गौतमले बताउनु भयो ।