३० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई जिल्ला अदालतले फागुन २२ गते ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले पुर्पक्षका लागि थुनामा रहेका यादवलाई ७ वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । पीडितले यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ फागुन १२ गते उजुरी दिनु भएको थियो । बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई हो–हल्ला गरेपछि जम्मा भएका गाउँलेहरूले प्रहरीलाई खबर गरी ०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७५ फागुन १२ गते भएको थियो । दुई छोरी र दुई छोराकी आमा पीडितका पति वैदेशिक रोजगारका लािग मलेशियामा छन् । आरोपितले आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको बताउनु भयो । जिल्ला अदालतको आदेशले यादव ०७५ चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।