राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिएकी छन् ।
मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले ती व्यवस्था क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रूपमा स्थापित गरिएको उल्लेख गरेकी हुन् ।
‘संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक तथा कानुनी निकायको व्यवस्था गर्नु आफैँमा सन्तोषको विषय हो । यसै परिप्रेक्ष्यमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेका छन् ।’-शुभकामना सन्देशमा भनिएको छ-‘मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको छ । दिवसले सम्पूर्ण मानव जातिका साझा अधिकार सबैलाई सधैँ प्रत्याभूत गर्न विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।’