थाहा नगरपालिका की २८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा दुईजना आरोपितलाई मकवानपुर जिल्ला अदालतले ०७६ फागुन १ गते २० वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले २८ वर्ष अघि मकवानपुरको महिलालाई बेचबिखन गरेको घटनाका आरोपित हेटाैडा–३ बसामाडीका ५० वर्षीय हर्कलाल गोले र हेटाैडा–८ की ४७ वर्षीया हरिमाया घ्यावालाई २०/२० वर्ष कैद फैसला गरेको अदालतका श्रेस्तेदार केशवराज कौशिकले बताउनु भयो । अदालतले जनही दुई लाख रूपियाँ जरिबाना र एक लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश गरेको श्रेष्तेदार कौशिकले बताउनु भयो ।
गोले र घ्यावाको सहयोगमा ०४८ असोजमा थाहा नगरपालिका –१२ का मानबहादुर थोकरले पीडितलाई नक्कली विवाह गरी पाँच दिन नबित्दै लठ्याउने औषधि खुवाएर मुम्बई पुर्याएर २ लाख रुपियाँमा बेचेका थिए । थोकर हाल क्षेत्रीय कारागार भीमफेदीमा रहेकाे र ती दुई दुवै जना हालसम्म फरार रहेकाे र गाेले र घ्यावा फरार रहेकाे काैशिकले बताउनु भयाे ।
थोकरकै बयानका आधारमा गोले र घ्यावाले ती पीडितलाई विक्री गरेको खुलासा भएको थियो । मुल्तवीमा राखिएको मुद्दा ब्युँत्याएर उनीहरूको हकमा फैसला गरिएको श्रेस्तेदार कौशिकले बताउनु भयो । पीडितलाई त्यतिबेला मानबहादुरले घ्यावा र गोलेसँग ५० हजार रूपियाँ लिएर बेचेको बयानमा खुलेको कौशिकले बताउनु भयो । मुम्बईस्थित कोठीमा आएका एकजना भारतीय नागरिकको सहयोगमा त्यहाँबाट भागेर पीडित महिला भारतीय नागरिककै सहयोगमा ०६८ मङ्सिरमा हेटौंडासम्म आइपुग्नु भएको थियो ।
महिला अधिकारकर्मीको सहयोगमा पीडितले ०६९ जेठ २१ गते मानबहादुर विरुद्ध प्रहरीमा उजुरी दिनुभएपछि मानबहादुरलाई प्रहरीले गिरफ्तार गरेको थियो । ०७० जेठ ७ गते मकवानपुर जिल्ला अदालतले मानबहादुरलाई मानव बेचबिखन गरेको ठहर गर्दै २० वर्ष कैद र दुई लाख रुपियाँ जरिबाना फैसला गरेको थियो ।