INSEC Online

📅 २०८३ जेष्ठ २२

नगर प्रमुखमाथि दुर्व्यवहार, तीन जना गिरफ्तार

डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुर्व्यवहार  गरेको आरोपमा सप्तरी प्रहरीले डाक्नेश्वरी नपा–३ का ४० वर्षीय राजीवकुमार राय, डाक्नेश्वरी नपा–५ का ३२ वर्षीय अमरेन्द्रकुमार यादव र डाक्नेश्वरी नपा–७ का २६ वर्षीय अर्जुनकुमार यादवलाई माघ २३ गते गिरफ्तार गरेको छ ।

घटना लगत्तै गिरफ्तार तीन जनासहित डाक्नेश्वरी नपा–५ का ४५ वर्षीय महेश्वरप्रसाद यादव र डाक्नेश्वरी नपा–७ का ३० वर्षीय गजेन्द्रप्रसाद साहविरुद्ध नगर प्रमुख साहले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जतीको उजुरी दिनु भएको छ ।

अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताउनु भएको छ ।

डाक्नेश्वरी नपा–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी हुन कर्मचारीहरूसहित गाडीमा गइरहेका बेला माघ २१ गते आरापितहरूले दुर्व्यवहार गर्दै कर्मचारीहरूमाथि हातपात गरेको नगर प्रमुख साहले बताउनु भयो । गाडीलाई चारै तिरबाट मोटरसाइकलले घेराउ गरी ज्ञापन–पत्र दिनु छ अहिले कार्यालय हिँड भन्दै घिस्याउन खोजेपछि कर्मचारीहरूले रोक्न खोज्दा उनीहरूमाथि नै हातपात भएको प्रमुख साहले बताउनु भयो ।

नगर प्रमुख साहमाथि भएको हातपातको विरोधमा माघ २३ गते जिल्लाका १८ ओटै स्थानीय तह बन्द गरिएको छ । नगर प्रमुख साहमाथि भएको आक्रमणको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीमा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेपछि सप्तरीको नौ नगरपालिका र नौ गाउँपालिकाको सेवा बन्द भएका छन् ।

आर्थिक अनियमितताको विरोध गर्दै गत मङ्सिर २९ गतेदेखि स्थानीय युवाहरूले डाक्नेश्वरी नगरपालिका कार्यालयमा ताला लगाएर गरेको आन्दोलन गत पुस १२ गते २२ बुँदे सहमतिपछि खुला भएको थियो । नगर प्रमुख साहमाथि भएको घटनामा आन्दोलनमा संलग्न रहेका युवाहरू रहेको बताइएको छ ।

अन्य

भिडियो