नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले रिहा गरे लगत्तै माघ २२ गते साँझ पुनःगिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले दुई हजार रुपिँया धरौटीमा रिहा गरेका भण्डारीलाई प्रहरीले थप केही विषय सोधपुछको लागि भन्दै जिल्ला प्रहरी कार्यालय लगेको थियो । कार्यालय पुगेपछि भण्डारीलाई पुनः गिरफ्तार गरिएको जानकारी दिइएको थियो ।
भण्डारीविरुद्ध प्रहरीलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा माघ १३ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो ।
कावासोती–२ फलफुल चोकमा होहल्ला गरिरहेको र प्रहरी पुग्दा प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले भण्डारीविरुद्ध माघ १३ गते मुद्दा दायर गरेको थियो । इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसँग भण्डारीले प्रहरीले आफुलाई झुटो मुद्दा लगाएको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले माघ १२ गते साधारण तारेखमा आफुलाई छाडेको भन्दै भण्डारीले सोही दिन जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न जिल्ला हुदै जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व) ल्याएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङले ०७६ साउन २७ गते गिरफ्तार गरेपछि हाल सम्म गण्डकी प्रदेशको विभिन्न ९ जिल्लामा प्रहरी हिरासतमा रहेकोले आफु विरुद्ध लगाइएको आरोप झुठा प्रमाणित हुने उहाँले बताउनुभयो ।
हालसम्म उनलाई बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रहरीले हिरासतमा राखेको छ ।भण्डारीले माघ २२ गते पुनःगिरफ्तारी पछि इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसँग प्रहरीले आफुलाई चितवन लैजान लागेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्सपेक्टर टिकाराम पोखरेलले भण्डारीलाई चितवन जिल्लामा थप विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाइने जानकारी दिनुभयो ।


