प्रसौनी गाउँपालिका–५ प्रष्टोका ३२ वर्षीय जयप्रकाश साहको १० वर्षीय छोरा आकाश कुमार साहलाई माघ १७ गते सोही गाँउका ३८ वर्षीय बिर बहादुर रामका १४ वर्षीय छोरा राजकुमार रामले चक्लेट खान दिएर ललाई–फकाई अपहरण गरि लगेको आरोप पीडित बालकका काका ३६ वर्षीय ओम प्रकाश साहले लगाउनु भएको छ ।
बालकका काकाले सोही गाउँको पब्लिक बोर्डिङ्ग स्कुलमा सरस्वती पूजाको बिसर्जन गर्न लागिरहेको बेला अपहरण भएको भन्दै माघ १९ गते जिल्ला प्रहरी कार्यालय बारामा किटानी उजुरी दिनु भएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीका इनिस्पेक्टर ओमप्रकाश यादवको कमाण्डमा रहेको प्रहरीले कलैया उमनपा–२४ श्रीपुर टोलको सडकबाट राजकुमार रामले साईकलमा आकाश कुमार साहलाई राखि लगिरहेको अवस्थामा माघ २० गते गिरफ्तार गरेको छ ।
राजकुमार रामका मामा ३५ वर्षीय राजु रामले बालक आकाश साहलाई अपहरण गरि ल्याएमा ५० हजार दिने भनेकाले चक्लेट खुवाउन लगेर लठ्याउने औषधी खुवाएको र अपहरण गरि मामालाई बुझाउन जाँदै गर्दा गिरफ्तार भएको इनिस्पेक्टर यादवले बताउनु भएको छ ।
राजकुमार रामले आफ्नो साथी वीरगंज मनपा–१४ गण्डक बहुअरी निवासी ३८ वर्षीय जोखु रामको छोरा १८ वर्षीय रमेश रामसँग मिलेर अपहरणबाट आउने ५० हजार रुपियाँ बाँडेर लिने सल्लाह गरि रमेश रामको दिदीको घरमा राखी माघ २० गते बिहान २ः०० बजे मुख्य योजनाकार राजु रामलाई बुझाउन लग्दै गरेको राजकुमार रामबाट खुलेको इनिस्पेक्टर यादवले बताउनु भएको छ । रमेश रामलाई माघ १९ गते आफ्नै गाउँबाट प्रहरीले गिरफ्तार गरेको यादवले बताउनु भएको छ ।
माघ २० गते जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ५ दिनको म्यद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।