राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले कक्षा बहिष्कार गरेर पठन–पाठन ठप्प पारे पछि आक्रोशित विद्यार्थीहरुले पठन–पाठन नभएको भन्दै माघ २० गते तोडफोड गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ केन्द्रिय समितिले ‘सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गरियोस’ भन्ने एक सुत्रीय माग राखेर आन्दोलन थालेपछि राजविराजस्थित संघको इकाई आवद्ध आंशिक प्राध्यापकहरुले माघ १९ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै माघ २० गतेदेखि कक्षा बहिस्कार गरेका थिए । उहाँहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकहरुले समेत समर्थन जनाएपछि क्याम्पसमा पठन–पाठन ठप्प भएको हो ।
पठन–पाठन नभए पछि विद्यार्थीहरुले क्याम्पसको कुर्सीहरु तोडफोड गरेका छन् । प्राध्यापकहरुले आफ्नो हकहितका लागि गरेको आन्दोलन जायज भएपनिे पठन–पाठन बन्द गर्न नहुने भन्दै विद्यार्थीहरु समेत आन्दोलित भएका हुन् । विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरुले विद्यार्थीको निर्वाध पढ्न पाउने हक खोसिएपछि आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
पठन–पाठन सुचारु गर्न माग राख्दै राखेका अनेरास्ववियु, नेविसंघ, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघका नेताहरुले पठन–पाठन रोकेर विद्यर्थीको भविष्यमाथि खेलवाड गर्न नपाइने बताएका छन् ।
अनेरास्ववियु सप्तरीका अध्यक्ष ललितनारायण रजकले पठन–पाठन अवरुद्ध गरी हुने आन्दोलन आफुहरुलाई मान्य नहुने बताउनु भएको छ । शिक्षकहरुलाई अन्य स्वरुपको अन्दोलनको कार्यक्रम बनाउन आग्रह गर्दै उहाँले पठन–पाठन नै ठप्प पारेर आन्दोलन गर्नु उपयुक्त नहुने बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस इकाइ समिति राजविराजका सचिव डिल्लीराज खतिवडाले गत माघ ७ गते र १७ गते दुई पटक दिइएको अल्टिमेटमसहितको माग पूरा नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताउनु भएको छ । विगत १५ वर्षदेखि पढाउँदै आएका आंशिक प्राध्यापकहरुको भविष्य अनिश्चित बनाइएकोले आंशिक प्राध्यापकलाई करारमा नलगिए धर्नालगायत आन्दोलनका अन्य कार्यक्रम गरिने उहाँले चेतावनी दिनु भएको छ ।
राजविराज क्याम्पसमा ३५ जना आंशिक शिक्षक छन् भने १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।