भक्तपुर जिल्लाको मध्यपूरथिमि नगरपालिका–५ कि यूकेजीमा पढ्ने छ वर्षीया बालिकालाई २०७६ माघ १९ गते दिउँसो अपहरण गरि १६ लाख फिरौती मागेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सर्लाही जिल्ला लालबन्दी ४ घरभई हाल मध्यपुरथिमि नगरपालिका ५ निकोसेरा बस्ने छ वर्षीया बालिका अपहरणा गर्ने सर्लाही लालबन्दी नगरपालिका ५ स्थायी घरभई हाल मध्यपुरथिमि नगरपालिका ६ बोडे बस्ने २० वर्षीय आशिष थापालाई प्रहरीले गिरफ्तार गरेकाे हाे । माग गरेको फिरौती रकम लिन आउने क्रममा प्रहरीले मध्यपुरथिमि नगरपालिका ४ एसएस चोकबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका डिएसपी दीपक गिरीले बताए ।
दिउँसो करिब सवा १२ बजे स्कुल पुगेका आशिषले बालिकाको आफन्त भएको बताउँदै बालिकालाई स्वास्थ्य परीक्षण गर्न लैजाने बाहनामा मोटरसाईकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ ।
आफूले चिनेकै मान्छे स्कुलमा लिन आएपछि बालिका पनि सहजै गएको र अपहरणकारीले मोटरसाईकलमा बालिकालाई लगेर सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पुर्याई बालिकाको बुबालाई ३ बजे भित्र १६ लाख नदिए मारिदिने धम्की दिएपछि बालिका अपहरणमा परेको खुलासा भएको थियो ।
प्रहरीका अनुसार बालिका लिन आउनु अघि आशिषले बालिकाको बाबुको आवाज नक्कल गरि छोरीलाई सन्चो नभएकाले डाक्टरकोमा चेकअप गर्न लैजानु छ, एकजना भाई लिन आउँछ छोरीलाई पठाईदिनुस् भनेर स्कुलमा फोन गरेका थिए । केही बेरपछि आशिष स्कुल पुगेर बालिकालाई लिन आएको बताएका थिए । बालिकाले पनि दादा भनेपछि स्कुल प्रशासनले बालिका पठाएको अनुसन्धानमा पाईएको डीएसपी गिरीले बताए ।
बालिकाको बाबुले प्रहरी बृत्त थिमिमा छोरी अपहरणमा परेको खबर गरेपछि प्रहरी बृत्त थिमि, प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाण्डौंको टोलीले बालिकाको खोजी तिब्र पारेको थियो । अपहरणकारीको मोवाईल लोकेशनको आधारमा प्रहरीले सूर्यविनायक जंगल केन्द्रीत भएर खोजी गर्ने क्रममा अपहरणकारी थापाले फिरौती वापतको रकम थिमिमा ल्याएर दिन भनेपछि बालिकाको परिवारले पैसा लिएर आएको जानकारी दिदै भाटभटेनी सुपरमार्केट हुदै एसओएस चोक पुगे पछि पिछा गरेको प्रहरी टोलीले त्यहीबाट आशिषलाई गिरफ्तार गरेको प्रहरीको भनाई छ । रकम लिन भनेर आएका थापालाई प्रहरीले एसओएसबाट गिरफ्तार गरेको थियो । अपहरणमा सघाउने अर्का एकको खोजी भईरहेको डिएसपी गिरीले बताए ।