मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा पुस २२ गते ताला लगाइदिएका छन् ।
साथै सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न पुस २२ गते दिउँसोदेखि नै स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गर्नु भएको छ ।
शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा क्याम्पसमा ताल लगाएर रिले अनशन सुरु गरेका हुन् । शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ । क्याम्पस सञ्चालक समितिको पुस २० गते बसेको बैठकले शुल्क वृद्धिको निर्णय गरको प्रति विद्यार्थीले विरोध गरेका हुन् । विराेधपछि क्याम्पसकाे पढाइ ठप्प छ ।
समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो । क्याम्पस घाटा भएको जनाउँदै शुल्क बृद्धि गरेको तर क्याम्सपका प्राध्यपकहरुको मासिक तलबमा वृद्धि गरिएकोले यो निर्णय मान्य नहुने स्ववियु सभापति कुमार केसी बताउनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेलले आन्दोरत बिद्यार्थीसंग छिट्टै वार्ता बसेर समस्याको समाधान गर्ने बताउनुभयो । बिगत ९ बर्षदेखि क्याम्पसमा बिद्यार्थी भर्ना शुल्कमा वृद्धि नभएको तर सरकारले तोकेको सेवा सुबिधा प्राध्यापक तथा अन्य कर्मचारीलाई दिनुपर्ने हुदा क्याम्पस झन्डै साढे चार करोड रुपैया घाटामा संचालन भएकोले शुल्क वृद्धि गर्नुपर्ने अवस्था आएको अध्यक्ष पौडेलले बताउनुभयो ।क्याम्पसमा ४ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।