जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीहरूले सास्ती भोग्नु परेको छ ।
१६ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय,डोटीमा हाल ६ जना मात्रै कार्मचारी कार्यरत रहेका कारण जिल्ला प्रशासन कार्यालय,डोटीमा आउने सेवाग्राहीहरूले सास्ती भोग्नु परेको हो ।
कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालयबाट प्रवाहा गरिने नागरिकता, राहदानी र बिभिन्न प्रकारका सिफारिसलगायतका सेवाहरू आफूहरूले समयमै पाउन नसकेको स्थानीय सेवाग्राहीको गुनासो रहेको छ ।
कर्मचारी अभाबका कारण जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता ,राहदानीलगायतका सेवा समयमै पाउन नसकिएको डोटी क्याम्पसमा अध्ययनरत बिद्यार्थी प्रकाश जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘सानो कामका लागि पनि दिरभरी पालो कुरेर बस्नु पर्ने बाध्यता छ ।’
जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवा लिन घण्टौँ कुर्नु पर्ने बाध्यता रहेको केआईसिँह गाउँपालिका –४ का धर्मराज जोशीले गुनासो गर्नु भयो ।
नागरिकता बनाउन बिहानै जिल्ला प्रशासन कार्यालयमा आइपुग्दा समेत नागरिकता पाउन नसकेपछि बाध्य भएर जिल्ला सदरमुकाम मै बास बस्नु पर्ने अवस्थाले आफूहरूले थप आर्थिक समस्यासमेत झेल्नु परेको बड्डीकेदार गाउँपालिका –२ का करन थापाले दुखेसो पोख्नु भयो ।
हरेका दिन ६० देखि ७० जनासम्म सेवाग्राहीहरू नागरिकता र राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालय,डोटीमा आउने गरेको बताउँदै कर्मचारी अभावका कारण सेवाग्राहीलाई छिटोछरितो रूपमा सेवा दिन नसकिएको जिल्ला प्रशासन कार्यालय,डोटीका कम्प्युटर अपरेटर सुवास नेपालीले बताउनु भयो ।
दरबन्दी अनुसार कर्मचारी नहुँदा झेल्नु परेको समस्याका बिषयमा तालुक निकाय,मन्त्रालय र बिभागमा जानकारी गराई कर्मचारी माग गरेको भए पनि हालसम्म ब्यवस्थान हुन नसकेका कारण सेवाग्राहीहरूले सास्ती झेल्नु परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको भनाई रहको छ ।
उहाँले भन्नु भयो –‘ १६ जना कार्मचारीले दिनु पर्ने सेवा ६ जनाले दिनु परेको छ । कसरी जनतालाई छिटोछरितो सेवा दिन सकिन्छ ? । कर्मचारी अभावका कारण सार्वजनिक सरोकारका महत्वपूर्ण कार्यक्रममा समेत सहभागि हुन सकेको छैन् । कार्यालय भन्दा बाहिरका कार्यक्रममा सिडिओ साव सहभागि हुनु हुन्न् भन्ने गुनासो पनि सुन्नु परेको छ ।’
जिल्ला प्रशासन कार्यालय,डोटीमा दुई जना प्रशासकिय अधिकृत, सात जना नासु, दुई जना कम्युटर अपरेटर,चार जाना खरदार र एक जना लेखापाल गरी १६ जनाको दरबन्दी रहेको भए पनि हाल चार जना नासु र दुई जना खरिदार गरी ६ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् ।