बेनी–जोमसोम–कोरला सडकमा कार्यरत मजदुरहरूले शर्मा युनाईटेड जेभीले पारिश्रमिक नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ०७६ पुस १६ गते धर्ना दिएका छन् ।
शर्मा युनाइटेड जेभी अन्तर्गत रहेको साइट कार्यालय तिप्ल्याङमा जिफन्ट म्याग्दीको अगुवाइमा ०७६ पुस १५ गते तालाबन्दी समेत गरेका छन् । सडकमा काम गर्ने मजदुरले पछिल्लो ६ महिनादेखिको तलब एक करोड ११ लाख रुपैयाँ नपाएको आरोप लगाएका छन् ।
६० जना मजदुरको तलब सुविधा उपलब्ध गराउन ठेकदार कम्पनीले आनाकानी गरेपछि बाध्य भएर तालाबन्दीसहित आन्दोलनमा उत्रिएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिनुभएको छ ।
तिप्ल्याङमा रहेको कम्पनीको साईट कार्यालयमा तालाबन्दीसँगै बुधबार जिल्ला बिहान १० बजे देखि प्रशासन कार्यालय अगाडि धर्नामा मजदुरहरु बसेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनु भएको छ ।
यसअघि समेत पटकपटक ज्यालाको माग गर्दै आन्दोलनमा उत्रिएका मजदुरलाई प्रशासनको सक्रियतामा समस्याको समाधान गरिएको थियो ।
तत्कालै मजदुरको तलब निकासा नभए आयोजनाको काम समेत ठप्प पार्ने मजदुरहरुले चेतावनी दिएका छन् । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा चारवटा र १ सय १० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा शर्मा युनाईटेड जेभीको प्रगति समेत निराशाजनक देखिएको छ ।


