अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामिले चाहेको भविष्य” भन्ने मूल नाराका साथ काठमाडौँमा प्रभातफेरी र्यालीको आयोजना गरिएको छ ।

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस मूल आयोजक समितिको आयोजना र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल तथा सदस्य संस्थाहरूको समन्वयमा मङ्सिर १८ गते भृकुटीमण्डपबाट निकालिएको र्याली पुतलिसडक, वागबजार, घण्टाघर, रत्नपार्क हुँदै पुनः भुकुटिमण्डपमा आएर सभामा परिणत भएको थियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चित गरिनु पर्ने बताए । राज्यले कानुन बनाएर अपाङ्गता भएका व्यक्तिहरूको समाजिक सुरक्षाको प्रत्याभूति गर्नु पर्ने उनको भनाइ थियो ।
‘अपाङ्गता ऐन अविलम्व पारित गरियोस्, अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीका अवसरहरू सृजना गरियोस्, मानिसको स्वास्थ्य सेवालाई सुलभ बनाइयोस्, मनोसमाजिक अपङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्ति सरह समान पहुँच र अवसर प्रदान गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड सहित अपाङ्गता क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिहरू र्यालीमा सहभागी थिए ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार अन्तर्राष्ट्रिय अपाङग दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले सरकारी नियम कानुन अनुसारको सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरूले नपाएको सुनासो गरेका छन् ।
सार्वजनिक यातायातका साधनहरूमा अपाङ्गता भएका व्यक्तिले पाउनु पर्ने छुट अझै प्रभावकारी रूपमा कार्यन्वयन नभएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताए । यातायातका साधनहरूमा अपाङ्गता भएका व्यक्तिहरूको नाममा राखिएको आरक्षण सिट अरुले नै ओगट्ने गरेको सिताराम बसेलले बताए । अपाङ्गता परिचय पत्र वितरणमा पनि राजनीति भएको उनको गुनासो छ ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको २५ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्सिर १८ गते इलाममा आयोजित कार्यक्रमका सहभागीहरूले राज्यले सेवा प्रवाह गर्ने हरेक निकायमा आफूहरू पुग्नै नसक्ने अवस्था रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले कुनै स्थानमा पनि सहज सहभागिता नगराएको बताए । कार्यक्रममा पत्रकार महासङ्घ इलामका पूर्व अध्यक्ष सोमनाथ सुशेलीले हृवील चेयरको सहारामा जीवन बिताइ रहेका विद्यार्थीहरूलाई सहज शैक्षिक वातावरण बनाउन नसकेको बताए । ‘हासिल गरौं दिगो विकासका १७ लक्ष्यः सुनिश्चित गरौं हामीले चाहेको भविष्य’ मूल नारा रहेको कार्यक्रममा इलामका सांसद केशव थापा, महिला बालबालिका कार्यालयकी अधिकृत स्कीम श्रेष्ठलगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले सम्मान गरेर अवसर प्रदान गर्नुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर सहितको र्यालीले इलाम बजार परिक्रममा गरेको थियो । यस्तै इलाममा माबु, जमुना, नयाँबजार, फिक्कल, मङ्गलबारेलगायतका स्थानहरूका पनि विविध कार्यक्रम गरी अपाङ्गता दिवस मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि-२००६ लाई नेपालले २७ डिसेम्बर २००९ अर्थात २०६६ साल पुस १२ गते अनुमोदन गरिसकेको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार नेपालको संविधानमा अपाङ्गतासम्बन्धी लेखिएको कुरा कार्यान्वयनका लागि पहल गरिदिन सम्बन्धित सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले आग्रह गरेका छन् ।
अपाङ्गता दिवसको अवसरमा मङ्सिर १८ गते जिल्ला सदरमुकाम गढीमा भेला भएका अपाङ्गता भएका व्यक्तिहरूले यस्तो आग्रह गरेका हुन् ।
संविधान संशोधनसम्बन्धी बहस चलिरहेको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूले संशोधन भन्दा पनि उक्त संविधानमा लेखिएका आफ्ना हक र अधिकारहरू कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, सङ्घ संस्था र नागरिक समाजका प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।
जिल्ला अपाङ्ग सङ्घका अध्यक्ष तारासिंह कुँवरले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक अवसरबाट वञ्चित गराइने परिपाटीको विरोध गर्दै संविधान अनुसार हरेक क्षेत्रमा अपाङ्ता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चितताको माग गरे ।
भेलामा सहभागी भएकाहरूले जिल्लाका ५८ ओटा गाविसमध्ये २० ओटा गाविसमा अझै सम्म पनि अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने काम नभएकाले तत्काल सो कामका लागि आवश्यक प्रक्रिया सुरु गर्न जिल्ला विकास समितिको ध्यानाकर्षण गराएका छन् ।