आठबीसकोट नपा–१० को वडा कार्यालयमा पुस ८ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
घटनामा वडा कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायतका सामाग्री समेत जलाएको प्रहरीले जनाएको छ ।
मध्यरातमा वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई घटनाको बारेमा खबर गरेर जानकारी गराएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
आगजनीबाट वडा कार्यालयका फर्निचर, वडा अध्यक्ष र वडा सचिवको कुर्सीका साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिनुभयो ।
आगजनीबाट वडा कार्यालयको दुई लाख रुपियाँ बराबरको क्षति पुगेको वडाध्यक्ष चनाराले बताउनुभयो ।
घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।