लैङ्गिक हिंसाविरूद्ध निरन्तर आवाज उठाएको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस-१ चिलहरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले मङ्सिर १३ गते एक कार्यक्रमका माझ सम्मान गरेका छन् ।

चौधरीको घर पुगेर अधिकारकर्मीहरूले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सोही ठाउँका ३१ वर्षीय हरि चौधरीले ०७३ वैशाख ८ गते दिव्यालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेका थिए । जिल्ला अदालतले मङ्सिर २ गते आरोपितलाई दोषी ठहर गर्दै ६ महिना कैदको फैसला गरेको थियो । आरोपित भने घटना लगत्तैदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
दिव्यालाई दोसल्ला ओढाएर सम्मान गरिरहँदा उनका परिवारले अहिले पनि मानसिक त्रास नहटेको गुनासो गरेका थिए । दिव्याकी ३० वर्षीया बुहारी गीता चौधरीले भनिन-‘कुटपिटबाट घाइते सासुको जेनतेन उपचार त गरियो । तर, अझै पनि गाउँमा ढुक्कसँग बस्ने अवस्था छैन ।’
कुटपिटमा संलग्न व्यक्तिलाई जिल्ला अदालतले दोषी ठहरगर्दै ६ महिना कैद फैसला गरेपनि अहिलेसम्म गिरफ्तारीमा नपरेकाले जतिबेला पनि आफूहरूमाथि आक्रमण हुन सक्ने त्रास परिवारमा रहेको गीताले अधिकारकर्मीहरूलाई सुनाइन् ।

‘अदालतले ६ महिना कैद गर्ने फैसला सुनाएको छ भन्ने सुनेका छौं । तर, हालसम्म दोषी गिरफ्तार भएको छैन ।’-गीताले भनिन-‘कागजी फैसलाले मात्रै हामीले के न्याय पायौँ ?’
हिंसा पीडित परिवार मात्रै होइन कथित बोक्सीको आरोपमा कुटिएकी दिव्यालाई औषधि उपचार, न्यायिक निकायसम्म पुर्याई दिव्याको पक्षमा बोल्ने छिमेकीहरूले समेत आफूहरू असुरक्षित रहेको गुनासो गरेका छन् ।
स्थानीय रामबहादुर भण्डारीले दिव्यामाथि भएको अन्यायका विरूद्ध पीडितको पक्षमा बोल्दा गाउँलेहरू पनि डर मुक्त नभएको गुनासो गरे । दोषी खुलेआम हिडिरहँदा प्रहरीले गिरफ्तार नगर्नुलाई राज्यको कमजोरी भन्दै भण्डारीले लैङ्िगक हिंसाका घटनाको न्यूनीकरणका लागि प्रहरी प्रशासनको सहयोग नरहेको आरोप लगाए ।

सम्मान कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले कुटपिटबाट गम्भीर घाइते हुँदा पनि सामाजिक कुरिति विरूद्ध लड्ने दिव्या चौधरी, उनका परिवार र सहयोग गर्ने समाजलाई सम्मान गर्न आफूहरू गाउँसम्म आइपुगेको उल्लेख गर्दै पीडितलाई ससम्मान पुनस्थापित गर्ने अभिभारा पनि अब समाजकै काँधमा आएको बताए ।
सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले कथित बोक्सीको आरोप कानुन विपरित भन्दै यस्ता गतिविधि दण्डनीय हुने बताए । ‘समाजमा बोक्सी हुँदैनन् । कसैले बोक्सीको आरोप लगाए भने त्यो कानुनी अपराध हो ।’-क्षेत्रीय निर्देशक खरेलले भने ।
उनले लैङ्गिक हिंसा, मानव अधिकार हनन्लगायतका घटनामा संलग्नलाई सामाजिक बहिष्कार गरेर सचेत बनाउन समेत आग्रह गरे ।