अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् ।
यातायात, होटल, पसल र बैङ्क तथा वित्तीय संस्थाहरूमा सेवा लिने क्रममा अपाङ्गता भएका कारण विभेद खेप्नु परेको उनीहरूको गुनासो छ ।
सार्वजनिक यातायातमा यात्रा गर्न बस तथा अन्य सवारी रोक्दा समेत नरोकिदिने, रोकिहाले पनि सिट नभएको भनेर नचढाउने गरेको सिद्धिचरण नगरपालिका–१२ का दृष्टिविहीन युवा गोरखमान राईले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयोे–‘गाडी रोक्दा पनि रोक्दैनन् । छुटको त कुरै नगरौँ ।’ अन्य सार्वजनिक क्षेत्र, होटल तथा पसलमा पनि हेय दृष्टिले हेर्ने र नराम्रो व्यवहार गर्ने गरेको राईको गुनासो छ ।
यातायात क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले परिचयपत्रका आधारमा ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था भए पनि आफूले नपाएको रीमा राईले गुनासो गर्नुभयो ।
परिचयपत्र देखाउँदा यातायातमा हामीलाई परिचय पत्र नभई पैसा चाहिने भन्दै छुट नदिने गरेको राईको गुनासो छ ।
विद्यालयमा पाउनु पर्ने छुट तथा छात्रवृत्ति समेत अपाङ्गता भएका व्यक्तिले पाएका छैनन् । सिद्धिचरण नगरपालिका–१ की १७ वर्षीया कल्पना ओझाले आफूले विद्यालयमा पढ्दा छात्रवृत्ति मागे पनि नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘विद्यालयमा छात्रवृत्ति पाइएन, क्याम्पसमा पनि माग्दा व्यवस्था नभएको जानकारी पाइयो । अहिले आर्थिक सहायता पाएमा स्नातकोत्तर पढ्ने रहर छ ।’
राज्यका सबै निकायले अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा सहुलियत दिएर सेवा प्रवाह गर्ने नीति लिएका छन् ।
त्यस्ता नीति कार्यन्वयन नहुँदा असक्त र असहाय व्यक्ति मर्कामा पर्ने गरेका छन् । सरकारी तथा सामुदायिक संरचना निर्माण गर्दा अपाङ्गतामैत्री निर्माण गर्ने ओखलढुङ्गा स्थानीय तहका नीति तथा कार्यक्रममा उल्लेख भए पनि कार्यन्वयन नभएको अपाङ्गतासम्बन्धी क्रियाशिल संस्था फोडिड नेपालका अध्यक्ष गोपालमान थापाले आरोप लगाउनुभयो ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ जारी भई लागू भएको छ । उक्त ऐनमा अपाङ्गताका कारण अशक्त व्यक्तिलाई सेवा दिन विशेष व्यवस्था गरेको छ ।
ऐनको दफा ८ मा अपाङ्गता भएकै कारण कुनै पनि ठाउँ वा सेवामा भेदभाव गर्न नपाइने व्यवस्था छ भने दफा १५ मा सेवा सुविधा तथा न्यायमा पहुँचको अधिकार छ । यो दफामा यातायात क्षेत्रमा सेवा दिँदा सहुलियत दिनु पर्ने तथा विभेद गर्न नपाइने व्यवस्था छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर राजीव श्रेष्ठले त्यसरी विभेद गरेमा प्रहरीमा उजुरी गर्न आग्रह गर्नु भएको छ ।