अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रदेश ३ कार्यालय मकवानपुरको हेटौँडामा स्थापना भएको छ ।
हेटौँडा उपमहानगरपालिका–२ बासुदेवमार्गमा स्थापना गरिएको प्रदेश ३ को कार्यालय प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रशाद ढुङ्गेलले रिबन काटेर उद्घाटन गर्नुभयो ।
कार्यलय उद्घाटन गर्दै मन्त्री ढुङ्गेलले प्रशासन र जनताको बीचमा सत्यको पक्षमा उभिने संस्थाको रूपमा इन्सेकले आपूmलाई समाजमा स्थापित गर्न सफल भएको बताउनुभयो ।
‘संविधान जारी भएपछि अहिले दुई तिहाईको सरकार छ । अहिले पनि मानव अधिकारको पूर्ण प्रत्याभूति छैन । यस्तो अवस्थामा इन्सेकले सरकारको कान समाओस् र नागरिकको अधिकार सुनिश्चित गराउन झक्झक्याओस् ।’–उहाँले भन्नुभयो ।
राष्ट्रिय सभाका पूर्व सांसद तथा नेकपाका केन्द्रिय नेता केदार न्यौपानेले मानव अधिकारसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जोडेर लैजानु पर्ने धारण आएको भन्दै मानव अधिकारका विषयमा गाउँमा अझै बहस र पैरवी आवश्यक रहेको बताउनुभयो ।
इन्सेक कार्यसमिति सदस्य नजिर मिया अन्सारीले इन्सेक थोरै देखाउने र धेरै गर्ने संस्था भएको बताउनुभयो ।
अनौपचारिक क्षेत्रका ज्यालादारी मजदुरको अधिकारबाट अघि बढेको संस्था अहिले देशव्यापी रूपमा सबैको मानव अधिकारका सबै क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले उद्घाटन कार्यक्रममा इन्सेकले मानव अधिकारका क्षेत्रमा गर्दै आएका कामहरूको बारेमा संक्षिप्त जानकारी दिनुभयो ।
उहाँले सङ्घीयताको कार्यान्वयनका लागि सातओटै प्रदेशमा इन्सेकले प्रादेशिक कार्यालयहरू स्थापना गरेको बताउनुभयो ।






